Jun 18 2026 | २०८३, असार ४ गते
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजय गराउन अपिल गरेका छन् । सर्वहारा वर्गका नेता एवं विश्व समाजवादी क्रान्तिका नायक भ्लादिमिर इल्यिच लेनिनको १५२ औं जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७३ औं स्थापना दिवसको शुभकामना सन्देश जारी गर्दै आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा वाम–लोकतान्त्रिक गठकन्धनका उम्मेदवारलाई विजय गराउन अपिल गरेको हो ।
प्रचण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रतिगमनविरूद्धको संयुक्त संघर्षको क्रममा गठित वाम–लोकतान्त्रिक गठबन्धन प्राप्त उपलब्धीहरू, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षा गर्न दृढ छ। यही मान्यताका आधारमा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनले सबै स्थानीय तह र वडाहरूमा तालमेललाई प्रभावकारी बनाउने निर्णय गरेको छ। तसर्थ, आगामी निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराई संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार पार्न गठबन्धनमा आवद्ध दलका नेता–कार्यकर्ता र सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा विशेष अपिल गर्दछु ।’
प्रचण्डले आजको दिन देशभित्रका कम्युनिस्ट क्रान्तिकारीहरूका लागि मात्र नभएर विश्वभरिकै सर्वहारा एवं श्रमजीवी वर्गका निम्ति गौरवको दिन भएको बताएका छन् । रूसी क्रान्तिका नायक लेनिनको जन्मजयन्तीको अवसर पारेर स्थापना गरिएको नेकपाले ७३ वर्षको अन्तरालमा देशभित्र आमूल परिवर्तनको नेतृत्व गरेको छ । प्रचण्डले कम्युनिस्ट क्रान्तिकारीहरूको अगुवाइ र लोकतान्त्रिक शक्तिहरूको हिस्सेदारीमा पुँजीवादी जनवादी क्रान्ति आफ्नै विशेषता र मौलिकतासहित सम्पन्न भएको बताएका छन् । देश सामाजिक न्यायमा आधारित समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको पूर्वसन्ध्यामा हुन हामी सबै नेपालीहरूका लागि गौरवको कुरा भएको प्रचण्डको दाबी छ ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij