Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

स्थानीय तह स्वतन्त्र रहन नसक्दा स्वायत्तताको उपभोग गर्न सकिएन : अध्यक्ष सिंतान

स्थानीय तह स्वतन्त्र रहन नसक्दा स्वायत्तताको उपभोग गर्न सकिएन : अध्यक्ष सिंतान

  • ललितपुर जिल्लाको कोन्ज्योसोम गाउँपालिका ललितपुरका ३ गाउँपालिका मध्य एक हो। साविकका चौघरे, शंखु, दलचोकी, नल्लु र भारदेउ गाविसलाई समेटी साविकको चौघरे गा.वि.स.को कार्यालय भवनलाई केन्द्र बनाई ५ ओटा वडा कायम गरी गाउँपालिका घोषणा गरिएको हो।

    onlinepatrika
    Arghakhachi

    कोन्ज्योसोम गाउँपालिकाको क्षेत्रफल ४४.१६ वर्ग कि.मि. छ। कोन्ज्योसोम गाउँपालिकाको नेतृत्व गरिसकेको अध्यक्ष गोपिलाल सिंतान फेरि अध्यक्ष बन्ने दाउमा छन् । उनै सिंतानसँग अनलाइनपत्रिकाको लागि सुसी थिङले गरेको कुराकानीको सम्पादीत अंशः

    AGNI GROUP


    पालिकाले बजेट सार्वजनिक गरिसकेको छ, कस्ता कस्ता योजना तथा कार्यक्रम प्राथमिकतामा परे ?

    शिक्षा, भौतिक पूर्वाधार, कृषि तथा पशुपंछीका क्षेत्रहरू नै बढी प्रथमिकतामा परेका क्षेत्र हुन्। पुल पुलेसा निर्माणका योजना पनि हाम्रो प्राथमिकताका क्षेत्र हुन्। यस क्षेत्रको पर्यटन विकासलाई पनि हामीले उत्तिकै महत्वका साथ हेरेका छौं।

    स्थानीय तह आफैँमा स्वायत्त निकाय हो। स्थानीय तहमा बजेट निमार्ण र कार्यान्वयनमा एक खालको परिक्षण पनि हो, विगतका वर्षमा हेर्दा हाम्रो पालिका कति सफल देखियो ?

    पक्कै पनि यो हाम्रो एक खालको परीक्षा पनि हो । यसलाई कसरी कार्यान्वयन गर्ने र कसरी अगाडि बढाउने भन्ने खालका अन्यौलता थिए। तर पनि हामीले यसबीचमा योजना गरेका हरेक योजना सन्तुलित नै छन्। सफल नै देखिएका छन्। हामीले विगतका वर्षमा पनि प्राथमिकतामा राख्ने भनेको अहिले कै प्राथमिकता जस्तै हो। परिणाम हेर्दा ती सफल नै देखिएका छन्।

    उद्यमशिलता, महिला, बालबालिका लगायतलाई लक्षित गरेर संचालन गरेका कार्यक्रम पनि हाम्रा सफल कार्यक्रममा पर्छन्।

    प्राथमिकता छनोटमा कस्ता अफ्ठ्यारा आए , योजना छनोट र कार्यान्वयनमा नागरिकको सहभागिता कस्तो रह्यो ?

    हामीले नीति तथा कार्यक्रम बनाउनुभन्दा अगाडि योजना तर्जुमा, आवधिक योजना तथा नेपाल सरकारका राष्ट्रिय योजना तथा लक्ष्यमा रहेर कार्यक्रम तथा बजेट बनाइएको छ ।

    कोभिड–१९ को महामारीको कारण हामीले आफ्नो योजना अनुरुप लक्षित समुदाय तथा वडा स्तरमा भेला भएर कार्यक्रम तथा योजनाका बारेमा छलफल चलाउन पाएनौं । तर अन्य माध्यमबाट जनताका आवश्यकता पहिचान गरेर र हाम्रा पञ्चवर्षीय योजना र आवधिक योजनाको आधारमा रहेर योजनाहरू बनाएका छौं ।

    योजना छनाेट अफ्ठ्यारो भन्ने नै त आउँदैन, यसलाई कुन हिसाबले लिने भन्ने पनि हो । हामीले योजना गर्ने भनेको पालिकाले परिकल्पना गरेका र गाउँ गौरवका आयोजना नै हुन् । योजना छनौट सहमतिमै भएका छन् । यसमा सबैको सहमति छ ।

    पालिकाका आफ्नै नीति निमार्ण गर्ने कुरा पनि छन् । त्यो नीतिको कार्यान्वयनको कुरा पनि छ कसरी अगाडि बढिरहेको छ ?

    गाउँ पालिकाले बनाउने नीति भनेको प्रदेश र संघीय सरकारको नीति निर्माण भित्र रहेर गर्ने कुरा हो । संविधानले हामीलाई तोकिदिएको व्यवस्था भित्र रहेर गर्ने हो । हामी नीति बनाएपछि त्यसको कार्यान्वयन गर्ने गराउने र त्यसको अनुगमन गर्ने निकाय पनि हामी नै हो ।

    हामीले नीति नियमको पालनामा प्रतिवद्ध छौं त्यसैले पनि यसमा प्रभावकारिता छ कसैबाट कुरा उठ्न सकेको छैन। यसैबीचमा पनि केही कमजोरी भएको अवस्थामा कसैबाट सुझाव गुनासो आए त्यसलाई पारदर्शी र जवाफदेही ढंगले अगाडि बढाउने मुख्य भूमिका हामी जनप्रतिनिधीको हुन्छ। हामी त्यसको कार्यन्वयनमा दृढ संकल्पका साथ प्रतिवद्ध छौं। अनुगमन र नियमनका काम गर्दै सच्चाउँदै अगाडि आइरहेका छौं।


    पालिका स्वायत्त भए पनि प्रदेश र केन्द्रसँग समन्वय गरेरै काम गर्नु परेको छ । समन्वय गर्न कति सहज असहज छ ?

    हामी स्थानीय तहलाई प्रदेश र संघीय सरकारसँग समन्वय गरेर काम गर्न त्यति सहज छैन। यी तीन सरकारबीचको समन्वयको पाटोलाई बाहिरबाट हेर्दा जस्तो कार्यान्वयनमा त्यति सजिलो छैन। संविधानले हामीलाई स्वायत्तता दिएको छ। तर संघीय तथा प्रदेश सरकारका विभिन्न कार्यविधी, आदेश, परिपत्र, सचिवस्तरको निर्णय, मन्त्रीस्तरीय निर्णय लगायतका बहानाबाजीमा संविधानले निदृष्ट गरेको हाम्रो स्वायत्तताको अधिकार उपभोग गर्न पाइएको छैन।

    केन्द्र तथा प्रदेश स्थानीय तहलाई कति स्वतन्त्र रहन कस्तो पहल हुनुपर्ला ?

    यसको लागि राज्य पुर्नसंरचनामा जाँदा संविधानले जे व्यवस्था गरेको छ, जे सुविधा दिएको छ। अधिकार दिएको छ। त्यसको पूर्ण कार्यान्वयन गर्न स्थानीय तहले पाएको अवस्थामा थप केही पनि आवश्यक पर्दैन।

    अहिले गाउँ गाउँमा सिंह दरवार भनिएको छ तर स्थानीय तह स्वतन्त्र रहन नसक्दा स्वायत्तता को उपभोग गर्न नसक्दा त्यसको खास अनुभव छैन । यति स्वायत्तता र स्वतन्त्रताको कुरा लागु भए गाउँ गाउँम सिंह दरबार नै हुने थियो।

    कोन्ज्योसोमको अगाडि जानको लागि कस्ता–कस्ता संभावनाका क्षेत्रहरु छन् ?

    कोन्ज्योसोम गाउँपालिका हाम्रो नाम, सिमाना, भूगोल, प्राकृतिक स्वरुप सबैमा नमुना नै छ। ललितपुरको कृषि, पयर्टन, पूर्वाधारमा प्रचुर संभावना छ। हामी जनप्रतिनिधि आउनु भन्दा अगाडि र आएपछिको फरक हेर्दा पनि धेरै परिवर्तन देख्न सक्छौं। यसबीचमा भएका विकास निर्माणका कामले पनि हामी हिँजो र आजमा धेरै फरक बनेका छौं।

    कोन्ज्योसोम विशेष गरि पर्यटनमा राम्रो संभावना बोकेको ठाउँ हो। यसमा पर्यटनबाट आर्थिक रुपमा माथि उठ्नको लागि बलियो माध्यम बन्नसक्छ। दलचोकीको भ्यु टावर, शान्तिपार्क , यहाँका कृषि पकेट क्षेत्र, पशुपालन लगायतका धेरै कुराको बलियो संभावना यस गाउँपालिकामा छ।

    ती संभावनालाई सफल बनाउनको लागि के के चुनौती छन् ?

    त्यसको लागि हामीले धेरै चुनौतीको रुपमा लिनुपर्ने छैन। संघीयर प्रदेश सरकारले तीन ओटा राजमार्गमा ध्यान दियो भने अरुलाई चुनौतीको रुपमा हेर्नुपर्दैन। हामी दलचोकी लगन खेल १७ किलोमिटरको दुरीमा छौं। भारदेउ लगनखेलदेखि २२ किलोमिटरको दुरीमा छ। चौघरे लगनखेलदेखि २५ किलोमिटर टाढा छ । यी मुख्य सडकलाई कालोपत्र गरिदिएको अवस्थामा हाम्रो संभावनाहरू धेरै छन् । धेरै कुराको अपेक्षा गर्नुपर्दैन। विकासमा उथलपुथल हुनसक्छ। अरू कुराहरूलाई व्यवस्थापन गरेर अगाडि जान हाम्रो पालिका सक्षम छ।

    आउँदो १० वर्ष पछिको कोन्ज्योसोम कस्तो कोन्ज्योसोम बन्छ ? के छ यहाँको आफ्नो भिजन ?

    अबको १० वर्ष पछिको कोन्ज्योसोम र आजभन्दा १० वर्ष अगाडिको कोन्ज्योसोमलाई हामीले अहिले परिकल्पना गर्दा सपनाको कोन्ज्येसोम बनाउन सक्छौं। हामीलाई यो सपना हो कि ? भन्न लायकको कोन्ज्योसोम बनाउन सक्छौं। त्यो मेरो परिकल्पनामा छ। आजको नगरकोट, आजको चन्द्रागिरी, आजको धुलिखेल जस्तो छ, त्यत्तिकै चर्चित एक पटक पुग्नै पर्ने कोन्ज्योसोम बन्नेछ । गाउँवासीले जे सपना बोकेकाछन्, त्यो पुरा हुन्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij