Jun 18 2026 | २०८३, असार ४ गते
ललितपुर । स्थानीय तहको प्रमुख वा उपप्रमुख मध्ये एकजना महिला हुने अवधारणा अनुसार यसअघि स्थानीय तहमा प्रमुख, उपप्रमुख वा अध्यक्ष, उपाध्यक्ष पदमा महिला निर्वाचित भएका थिए। तर यसपालि भने चुनावी गठबन्धन गरेका दलहरुले महिलालाई प्रमुख वा उपप्रमुखमा उम्मेदवार बनाएका छैनन् ।
गठबन्धन भएको हरेक स्थानीय तहमा अहिले महिलालाई वेवास्था गरेर दुबै पदमा पुरुष उम्मेदवार बनाइएको छ । बैतडीको १० स्थानीय तहमा पनि यस्तै गरिएको छ । बैतडीको पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका र डिलाशैनी गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी)काबीच गठबन्धन भएको छ ।
गठबन्धका तर्फबाट पाटन नगरपालिकामा कांग्रेसका गौरीसिंह रावललाई उम्मेदवार बनाइएको छ भने, उपप्रमुखमा माओवादी केन्द्रका कमल बोहरालाई उम्मेदवार बनाएको छ। दोगडाकेदार गाउँपालिकामा कांग्रेसका देवराज जोशीलाई अध्यक्षको उम्मेदवार बनाएको छ भने, उपाध्यक्षमा नवराज भट्टलाई उम्मेदवार बनाएको छ ।
यसैगरी पञ्चेश्वर गाउँपालिकामा कांग्रेसका रमेश भण्डारीलाई उम्मेदवार बनाएको छ भने, उपाध्यक्षमा नेकपा(एकिकृत समाजवादी)का राजेन्द्र चन्दलाई उम्मेदवार बनाएको छ । डिलाशैनी गाउँपालिकाको अध्यक्षमा माओवादीका लोकेन्द्र रानालाई उम्मेदवार बनाएको छ भने, उपाध्यक्षमा कांग्रेसका भगीरथ बोहरालाई उम्मेदवार बनाएको छ।
जिल्लाको शिवनाथमा अध्यक्षका लागी कांग्रेसका कर्णसिंह साउद र उपाध्यक्षका लागी माओवादी केन्द्रका नरेन्द्र साउदलाई उम्मेदवार बनाएको छ।
यस्तै नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) बीच गठबन्धन भएको दशरथचन्द नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रले प्रेम थापालाई उमेदवार बनाएको छ भने, एकीकृत समाजवादीले उपप्रमुखमा राजुराम भुललाई उमेदवार बनाएको छ।
सुर्नया गाउँपालिकामा एकीकृत समाजवादीले नरेन्द्र बिष्टलाई अध्यक्षको उमेदवार बनाएकोमा उपाध्यक्षमा माओवादीले दिलाराम भट्टलाई उम्मेदवार बनाएको छ।सुर्नयामा यसअघि स्वेता भट्टले उपाध्यक्षको टिकट पाएको भन्दै सामाजिक सञ्जालमा चर्चा समेत भएको थियो। तर उम्मेदवारी दर्ता गराउने बेलामा दिलारामले दर्ता गराए।
यसरी दुवै पदमा पुरुषलाई मात्रै उम्मेदवार बनाउनु दुखःद भएको महिला अधिकारकर्मी शुसिला चन्दले बताइन्। उनले भनिन्,‘अहिले सबै पार्टीमा सक्रिय महिलाहरु रहेकाछन्। पुरुष प्रधान देश भएकाले नेतृत्वमा अझैपनी महिलालाई स्वीकार गर्न सकेका छैनन्। पार्टी नेतृत्वहरुले गल्ती गरेका छन्। यदि गठबन्धनले दुवै पद जितेमा महिलाको नेतृत्व अझ पछाडी धकेलिने छ।’
महिला नेतृत्व मञ्च पाटनका संयोजक अनिता जोशी भट्टले भनिन् ‘हामीले सबै पार्टीहरुलाई महिलालाई मुख्य पदहरुका उमेदवार बनाउन सबै दलहरुलाई ज्ञापनपत्र बुझाएका थियौँ। उम्मेदवार बनाउने आश्वासन पनि पाएका थियौँ भने, अधिकांश ठाउँका महिलाहरुले मुख्य पदहरुमा दाबी समेत गरेका हुन्। तर अन्तमा परिणाम भने ठ्याक्कै उल्टो आयो। अहिले गठबन्धनका कारण उपप्रमुखको पद समेत महिलाबाट खोसिने अवस्था आएको छ।’
यस बिषयमा गठबन्धनमा सामेल दलहरुले भने संवैधानिक व्यवस्था अनुसार नै निर्णय गरेको र महिलाहरुले स्वःस्फुर्त रुपमा दावेदारी छाडेको प्रतिक्रिया दिएका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij