Jun 18 2026 | २०८३, असार ४ गते
विराटनगर । मोरङको बेलबारीमा एक जना मेयर उम्मेदवारको गाडीमा आगजनी भएको छ। बेलबारी नगरपालिकामा राप्रपाबाट मेयरको उम्मेदवार बनेका खेमप्रसाद गौतमको बा १२ च ९३८४ नम्बरको कारमा आगजनी भएको हो। प्रहरीका अनुसार बेलबारी–२ स्थित घरमै पार्किङ गरेर राखेको अवस्थामा शुक्रबार बिहानपख करिब २ बजे आगजनी भएको हो।
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मेयरमा उम्मेदवारी दिएका गौतमले पार्टीको झण्डा तथा मेयर र उपमेयरका उम्मेदवारको फोटोसहितको ब्यानर राखेर उक्त कार प्रयोग गर्दै आएका थिए। प्रहरीले आगजनीमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ। सुन्दरहरैंचा नगरपालिका–१२ का अन्दाजी २८ वर्षीय सुवास पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका पाण्डे कांग्रेसका स्थानीय कार्यकर्ता हुन्। सीसीटीभी क्यामेरा फुटेजका आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij