Jun 12 2026 | २०८३, जेठ २९ गते
भक्तपुर । युवा तथा खेलकूदमन्त्री दावा लामाले आफू विगतका मन्त्रीहरुजस्तो मन्त्रालयको घेराभित्र मात्रै सीमित नरहने बताउनुभएको छ । युवा गैरसरकारी संस्था महासङ्घ भक्तपुरले आज यहाँ आयोजना गरेको बधाई तथा सञ्चार साक्षात्कार कार्यक्रममा उहाँले अब आफ्ना काम मन्त्रालयका फाइल सदर र मन्त्रालयको चौघेरामा मात्रै सीमित नहुने बताउनुभयो ।
“प्रत्येक मन्त्रालयमा युवाका सवाल सम्बोधन गर्न विभिन्न कार्यक्रम छन्, तिनलाई समन्वय र संयोजन गर्ने कार्य अब आफ्नो प्राथमिकतामा छ”, उहाँले भन्नुभयो, “नेपालमा युवा बेरोजगारी न्यूनीकरण गर्न अबका युवा कृषि उद्यमी बन्नुपर्छ ।”
मन्त्री लामाले कोरनापछि समग्र खेलकूद क्षेत्रलाई थप चलायमान बनाउनुपर्ने आवश्यकतामाथि जोड दिदैं आफ्नो अभियान अब त्यसैतर्फ केन्द्रित हुने बताउनुभयो ।
युवा गैरसरकारी संस्था महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष नारायण गिरीले मन्त्रालयको युवामैत्री काममा महासङ्घले हातेमालो गर्ने बताउनुभयो । युवा सकारात्मक सोचका अभियानकर्मी विकासदेव योञ्जनले युवा मन्त्रालयले युवा मन्त्री पाएको महसुस गर्न ब्यग्र प्रतीक्षामा रहेको बताउँदै युवामा सकारात्मक सोचसहितको ऊर्जा प्रवाह गर्नुपर्ने बताउनुभयो । पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्कर बुढाथोकीले सरकार र नेताले गलत गरे सञ्चार क्षेत्रले सधैँ खबरदारी र जायज काममा खुलेर साथ दिने बताउनुभयो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij