Jun 12 2026 | २०८३, जेठ २९ गते
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले हाल आफ्नो दल दुई समूहमा विभाजित देखिए पनि आफू कुनै समूहमा नभएको स्पष्ट गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उहाँले भन्नुभयो, “तीन वर्षमा पार्टी विभाजन गर्नु थियो भने एकता किन गर्नुपथ्र्यो रु पार्टीमा अन्तरपार्टी सङ्घर्ष र वादविवाद हुन्छ तर नेता त्यो हुन्छ जसले ती विवादमा समाधान दिन सक्छ ।”
पार्टी विभाजनको कुनै औचित्यता नरहेको बताउँदै नेकपा उपाध्यक्ष गौतमले पार्टीका नेताहरुको कार्यशैलीमा सुधारका लागि आफूले प्रयास गरे पनि सफल हुन नसकेको धारणा व्यक्त गर्नुभयो । आफू विभिन्न कारणले विरोधी जस्तो भएर बस्नुपरेको गुनासो पनि उहाँले राख्नुभयो ।
पछिल्लो समय आफू निरन्तर पार्टी एकतालाई जोगाउन लागिपरेको र अविश्वासको प्रस्तावलाई पनि असफल गराएको जानकारी दिँदै नेता गौतमले भन्नुभयो, “आरोपप्रत्यारोपका पत्र राख्दा पनि यो एउटा सुधारका निम्ति उपाय हुन सक्छ भन्ने लागेको थियो । यसपटक प्रतिनिधिसभा भङ्ग गर्दा पनि मलाई थाहा भएन ।”
प्रतिनिधिसभा विघटनसम्बन्धी विषय सर्वोच्च अदालतको संवैधानिक इजलासमा लगिएपछि विचाराधीन भएकाले अहिले असंवैधानिक भनेर भन्न नमिल्ने बताउँदै नेता गौतमले त्यसैले आफू चुप लागेको छु भन्नुभयो । नेकपाले संविधानको सर्वोच्चतालाई आफ्नो मूल सिद्धान्त बनाएको उहाँको भनाइ थियो । रासस
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij