Jun 12 2026 | २०८३, जेठ २९ गते
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवादका कारण प्रतिनिधिसभा विघटन भएदेखि केही नबोली मौन रहेका पार्टी उपाध्यक्ष वामदेव गौतमले बिहीबार बल्ल आफ्नो धारणा व्यक्त गरेका छन् । राष्ट्रिय सभा बैठकमा बिहीबार पहिलो पटक बोलेका उनले अध्यक्ष तथा प्रधानमन्त्रीले चालेको कदम सही नभएको र अर्को अध्यक्षले गरेको काम पनि आफूलाई ठीक नलागेको बताएका हुन् ।
राजनीतिक रूपमा पार्टीभित्र दुइटा समूह देखिए पनि आफू कतै पनि नलागेको उपाध्यक्ष गौतमले बताए । उनले आफू दुई समूहमा बाँडिएकालाई जुटाउन लागिपरेको बताए । ‘आज हाम्रो पार्टी दुई समूहमा विभाजित छ । म कुनै पनि समूहमा छैन किनभने मैले विचार गरें, तीन वर्षमा पार्टी विभाजन गर्नु थियो भने एकता किन गर्नुप¥या थियो ?’ उनले भने, ‘पार्टीभित्र अन्तर्विरोध हुन्छन्, समस्या हल गर्ने नै नेता हुन्छ ।’
नेकपा राजनीतिक रूपमा दुई समूहमा विभाजित देखिए पनि कानुनी रूपमा भने कस्तो निर्णय आउने हो भनी अन्योल रहेको बताए । ऋषि कट्टेलले नेपाल कम्युनिस्ट पार्टी नेकपा आफ्नो हो भनेर मुद्दा हालेकाले नेकपा कसको हुने भन्ने पनि अदालतबाट टुंगिन बाँकी रहेको बताए ।
पार्टी अहिलेको अवस्थामा आइपुग्नुमा नेकपाका दुवै पक्षका नेताको कमजोरी देखेको गौतमले बताए । ‘म त फेरि पनि एकता गर्न सकिन्छ कि भनेर लागिरहेको छु,’ उनले भने, ‘एक्लै सकिन्नँ कि भनेर संगठन नै बनाएर लागेको छु ।’ ५ पुसपछि नेकपा दुई समूहमा क्रियाशील छ । ५ पुसमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरेका थिए । उक्त कदम संवैधानिक वा असंवैधानिक भन्नेबारे अदालतमा मुद्दा रहेको भन्दै उनले केही बोल्न चाहेनन् । राजधानी दैनिकमा समाचार छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij