Jun 16 2026 | २०८३, असार २ गते
पेमा लामा बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं २ पीपलचौरमा रहेको पुरानो बस्तीलाई नमूना एकीकृत बस्ती निर्माणका लागि स्थानीय बासिन्दा लागिपरेका छन् । नेवार समुदायको बसोबास रहेको सो बस्ती करीब चारसय वर्ष पुरानो भएको जानकारहरु बताउँछन् ।
विसं २०७२ को भूकम्पले त्यहाँका समुदायका घर धेरैजसो क्षति बनाएपछि पुरानै शैलीमा पुनःनिर्माण गर्नेक्रम जारी रहेको र बस्तीबीचमा रहेको भीमसेन मन्दिर पूर्णरुपमा क्षति पु¥याएपछि पुरातत्व विभागको सहयोगमा पुनःनिर्माणको काम अगाडि बढाइएको छ । स्थानीय मोहनदास श्रेष्ठका अनुसार पलाञ्चोक र साँगा तथा काठमाडौँको साँखुबाट गएर पीपलचौरमा बसोबास गरेका नेवार समुदायका करीब ८० घरधुरी छन् । भूकम्पले क्षति पु¥याएपछि पुनःनिर्माणका क्रममा पुरानो शैलीलाई संरक्षण गर्ने गरी काम भइरहेको उहाँले बताउनुभयो ।
त्यहाँ भीमसेनको रथ खट जात्रा र कृष्णाष्टमीमा कृष्ण खट जात्रा मनाउने गरिन्छ । समुन्द्री सतहबाट करीब एक हजार ३०० मिटर उचाइमा रहेको सो बस्ती नेपालको पूर्वी व्यापारिक नाकाका रुपमा समेत रहेको गाउँ हो । तीन ठाउँबाट आएर बसोबास गर्दै आएका नेवार समुदायको तीन वटा छुट्टाछुट्टै गुठी रहेका र सोही गुठीद्वारा कृष्णाष्टमी जात्रा तथा भीमसेन जात्रा बनाउने गरेको उहाँले बताउनुभयो ।
स्थानीय युवा प्रकाश श्रेष्ठले नमूना एकीकृत बस्ती निर्माणको प्रक्रियासँगै बस्तीलाई सफा र स्वच्छ राख्ने काम सबैको हातेमालोमा भइरहेको जनाउनुभयो । रोटरी सामुदायिक सङ्घ पीपलचौरका अध्यक्ष सविना श्रेष्ठले युवाको सक्रियतामा आफ्नो बस्तीलाई नमूना एकीकृत बस्तीका रुपमा विकास गर्ने प्रक्रिया भइरहेको बताउनुभयो ।
रोटरी क्लब अफ धुलिखेलका पूर्वअध्यक्ष अशोक श्रेष्ठले बस्तीलाई नमूना बनाउने काममा रोटरी क्लब अफ धुलिखेलले आवश्यक सहयोग गरिरहेको जानकारी दिनुभयो । पीपलचौरका नेवार बस्ती शान्त, मनोरम र पुराना बस्ती भएका कारण यहाँका नेवार समुदायको पहिचान स्थापित एवं संरक्षणका लागि संस्थाले पहल गरिरहेको उहाँको भनाइ छ ।
सो ठाउँमा विसं १९७२ को अभिलेख तथा मन्दिरमा प्राचीनता झल्काउने स्मारक यथावत रहेका कारण त्यहाँको बस्ती धेरै पुरानो भएको स्थानीय बासिन्दा बताउँछन् । बस्तीका बारेमा थप प्रचार गर्न र एकीकृत नमूना बस्ती बनाउनका लागि आवश्यक कृषि, हरियाली, सरसफाइ होमस्टे, गोबरग्यास तथा खानेपानी, प्रचारप्रसारका साथै तालीमको व्यवस्थापनलगायतको काममा रोटरीले सहयोग गरेको रोटरी क्लब अफ धुलिखेलका प्रशासन प्रमुख मनिष योगलले बताउनुभयो ।
सो गाउँमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ९भवन०बाट प्राप्त आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय उपभोक्ता समितिको श्रमदान गरी रु एक करोड ६६ लाखमा सो बस्तीका बीचमा रहेको बाटामा ढुङ्गा छाप्ने कामसमेत सम्पन्न भई हस्तान्तरण गरिसकेको छ ।
धुलिखेल नगरपालिका–११ डाँडागाउँको बिपी राजमार्गबाट बुच्चाकोट हुँदै सो बस्तीसम्म पुग्ने मोटर बाटोको सुविधा भएका कारणले यातायातका साधन तथा पैदल हिँडेर सो ठाउँमा जान सकिने अवस्था रहेको स्थानीय बासिन्दा मोहनदास श्रेष्ठ बताउनुहुन्छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij