Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

ठडिँदै इतिहासको धरोहर: धरहरा

ठडिँदै इतिहासको धरोहर: धरहरा

  • काठमाडौं । विकसित होस् या अविकसित विश्वका धेरैजसो मुलुकमा पहिचान खुलाउने तथा विरासत झल्काउने ऐतिहासिक, सांस्कृतिक सम्पदा बनाइएका हुन्छन्। फ्रान्समा आइफिल टावर, अमेरिकाको न्युयोर्कमा स्ट्याचु अफ लिबर्टी, युनाइटेड अरब इमिरेट्स (दुबई) को बु्रज्रखालिफा सम्पदा र पहिचान झल्काउने ऐतिहासिक धरोहर हुन्। नेपालको ऐतिहासिक धरोहर ‘धराहरा’ पनि नेपालकै महत्वपूर्ण पहिचान बोकेको सम्पदा हो।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री भीमसेन थापाले १८८८ सालमा महारानी त्रिपुरा सुन्दरीदेवीका लागि यो धरहरा निर्माण गराएका थिए। तर दुर्भाग्य ठूला दुई भूकम्पले दुवैपटक धरहराको संरचनालाई नामेट पार्‍यो। १९९० सालको भूकम्पले पहिलो पटक ११ तले धरहरा भत्काएको थियो। तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर राणाले ऐतिहासिक महत्व बोकेको भन्दै धरहराको पुनर्निर्माण गर्न लगाए। देश भूकम्पबाट उच्च जोखिममा रहेका कारण जुद्धशमशेरले पहिलेको ११ तले धरहराको उचाइ घटाएर ९ तलाको बनाउन लगाएका थिए।

    AGNI GROUP

    जुद्ध शमशेरले धरहराको दुई तला त घटाए तर संरचना बलियो बनाउन सकेनन्। यसै कारण २०७२ वैशाख १२ को भूकम्पले धरहराको संरचना पूरै भत्कायो।

    त्यसबेला धरहरा चढिरहेका सर्वसाधारणमध्ये ५० भन्दा धेरैको ज्यान गयो। यस्तो ऐतिहासिक सम्पदालाई फेरि ठडाउन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विशेष चासो दिइरहेका छन्। धरहरा पुनर्निर्माण गति उनकै चासोका कारण बढेको छ। प्रधानमन्त्री ओलीले २०७३ फागुन ४ मा भत्किएको धरहरा परिसरमा आएर पुनर्निर्माण गर्ने प्रतिबद्धता मात्रै जनाएनन्, एक महिनाको पारिश्रमिकसमेत धरहरा पुनर्निर्माणमा उपलब्ध गराए। ओलीले २०७५ वैशाख १२ मा पनि धरहरा बनाइछाड्ने प्रतिबद्धता जनाए। उनले आफ्नै कार्यकालभित्रै धरहरा निर्माण सम्पन्न गराइछाड्ने प्रतिबद्धता जनाएका छन्।

    प्रधानमन्त्री ओलीले उच्च प्रथामिकतामा राखेर पुनर्निर्माण सुरुवात गराए पनि त्यसले अपेक्षित गति लिन सकेको छैन। तर अन्य पूर्वाधार तथा आयोजनाको तुलनामा भने धरहरा निर्माण प्रगति सन्तोषजनक छ। धरहरा पुनर्निर्माणमा कोभिड १९ र ठेकेदार कम्पनीको ढिलासुस्तीले केही ढिला भयो। अहिलेसम्म धरहरासहितका अन्य पूर्वाधारको समष्टिगत भौतिक प्रगति ४८ प्रतिशत छ। अहिलेसम्म यो परियोजनाका लागि एक अर्ब २४ करोड रूपैयाँ खर्च भइसकेको छ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धर भूकम्पले ढलेको ऐतिहासिक धरोहर धरहरा क्रमशः ठडिँदै आएको बताउँछन्। ‘धरहराको ९० प्रतिशत पुनर्निर्माण काम सकिएको छ,’ उनले भने, ‘अहिलेसम्म २० तलाको ढलान भइसक्यो। अब दुईतला मात्रै ढलान गर्न बाकीँ छ। त्यो पनि ४५ दिनभित्रै सक्नेछौं।’ प्राधिकरणले धरहराको १७ तलासम्म ढलान प्लास्टर गर्नेलगायतको काम भइरहेको जनाएको छ। मानन्धरले धरहरासँगै जोडिएको पार्किङ तथा बगैंचा पुनर्निर्माणको काम पनि भइरहेको बताए। ‘तीनतले पार्किङको ५० प्रतिशत निर्माण सकिएको छ,’ उनले भने, ‘हामीले ठेकेदार कम्पनीलाई जतिसक्दो छिटो काम सक्न अनुरोध गर्दै आइरहेका छौं।’ यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij