Jun 12 2026 | २०८३, जेठ २९ गते
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नै पार्टीको प्रमुख पदाधिकारी भएको पत्र बुधबार निर्वाचन आयोगलाई पठाएका छन्। ‘त्यसैले पार्टीको प्रथम अध्यक्ष वा प्रमुख पदाधिकारीको हैसियतले मैले पठाएको विवरणबाहेक अरूले पार्टीका तर्फबाट विवरण पठाउने अधिकार छैन र त्यस्तो अनधिकृत विवरण आयोगले अद्यावधिक गर्न मिल्दैन’, प्रधानमन्त्री ओलीले पत्रमा भनेका छन्, ‘निर्वाचन आयोगमा परिपत्र गर्ने सन्दर्भमा पार्टीको तर्फबाट द्वितीय अध्यक्ष श्री पुष्पकमल दाहाल प्रचण्डलाई कुनै अधिकार छैन।’
ओलीले दाहाललाई राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ बमोजिम अभिलेखीकरण गर्न आयोगमा पत्राचार गर्ने कुनै हकदैया नरहेको जनाएका छन्। ‘यसमा पनि २०७७ पौष १० गते दाबी प्रकृतिको निवेदन दिई आफैंले मिति २०७७ पौष २१ गते दाबी नभएको भन्दै अर्को निवेदन दर्ता गरिसकेपछि ती वहाँले आयोगमा पठाएका भनिएका कुनै पनि पत्रहरू औचित्य नै रहेन’, पत्रमा लेखिएको छ, ‘तसर्थ त्यस्तो औचित्यविहीन पत्राचारको सम्बन्धमा मलाई थप जानकारी माग्नुपर्ने कुनै कारण र आधार नभएको हुँदा ती पत्र तथा जानकारी आयोगले अभिलेखीकरण गर्न नमिल्ने व्यहोरा अनुरोध छ।’
ओलीले नेकपा विभाजन नभएको जिकिर गरेका छन्। उनले पार्टी विधान र आगामी वर्ष तोकिएको महाधिवेशनसम्म आफू नेकपाको पहिलो अध्यक्ष र दाहाल द्वितीय अध्यक्ष रहेको दाबी गरेका छन्। अन्नपूर्ण पोस्टमा खबर छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij