Jun 12 2026 | २०८३, जेठ २९ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमिबाट विकसित योग अहिले अन्तरराष्ट्रियकरण भएको बताउनुभएको छ । राष्ट्रिय योग दिवस मूल समारोह समितिका आयोजनामा आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले शरीरलाई चुस्तदुरुस्त राख्न र प्रतिरोधी क्षमता तथा बहन गर्न एवं सहन शक्तिको विकास गरी गतिवान् जीवन पद्धतिका लागि नेपालका पूर्वजले विकास गरेको योग नै अन्तरराष्ट्रियकरण भएको स्पष्ट गर्नुभयो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावका आधारमा सन् २०१४ देखि हरेक जुन २१ लाई अन्तरराष्ट्रिय योग दिवस मनाउने संयुक्त राष्ट्र सङ्घको निर्णयमा नेपालको पनि योगदान रहेको जनाउँदै प्रधानमन्त्री ओलीले ‘हाम्रो ठाउँ’ मा १५ हजार वर्षअघि नाता जोडिएको योगले अन्तरराष्ट्रिय माान्यता पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “योग कुनै धर्म वा अध्यात्मसँग सम्बन्धित छैन । यो दर्शनको सृष्टिभन्दा अगाडिबाट विकसित हुँदै चिन्तन,मनन र ज्ञानसँग सम्बन्धित हुँदै आएको छ । यो शरीरका अष्टाङ्गसँग गाँसिएको छ । हामीले यसलाई दैनिक जीवन पद्धतिमा अपनाउनुपर्छ ।”
नेपालको शिव तथा जनक, कपिल र बुद्ध सभ्यता, महर्षि पतञ्जलि हुँदै योग दिवस मनाउने परम्पराको थालनी भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले हाम्रा पूर्वज र शास्त्रले गणना र विश्वासका आधारमा असाधारण गणित र आयुर्वेदको आविष्कार गरेकै सिलसिलामा अन्तरराष्ट्रिय योग दिवस मनाउने परम्परा थालनी भएको बताउनुभयो ।
कार्यक्रममा योग प्राकृतिक चिकित्सा क्षेत्रमा योगदान दिने व्यक्तित्वलाई पुरस्कृत गरिनाका साथै ‘योग विशेष बुलेटिन’ विमोचन गरिएको थियो । कार्यक्रममा योगाभ्यास पनि गरिएको थियो । यस वर्षको दिवसको आदर्श वाक्य ९नारा० ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ रहेको छ । नेपालमा विसं २०७२ माघ १ गतेदेखि राष्ट्रिय योग दिवस मनाइँदै आएको छ । वर्षमा लामो दिन अर्थात् सूर्य उत्तरायनतर्फ लाग्ने दिनलाई योग दिवसका रुपमा मनाउन थालिएको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij