Jun 16 2026 | २०८३, असार २ गते
कास्की । जिल्लाको पोखरा महानगरपालिका र माछापुच्छ«े गाउँपालिकामा पशुमा लाग्ने सरुवा खोरेत रोगको प्रकोप देखिएको छ । गत पुस अन्तिम साता पोखरा–८ को एक पशु फार्ममा पहिलोपटक रोग देखिएकामा अहिले फैलिँदै गएर दुई पालिकाका १७ पशु तथा कृषि फार्ममा पालिएका ९४ पशु सङ्क्रमित बन्न पुगेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीले जनाएको छ ।
पोखरामा–१५ र माछापुच्छ«ेको वडा नं ३ र ४ मा एक÷एक फार्ममा रोग पुष्टि भएको छ । रोगका कारण अहिलेसम्म दुई पशु चौपाया मरेको बताइन्छ । सरुवा रोग खोरेत देखिएपछि पशु बिरामी हुने र उत्पादन घट्दै गएपछि कृषक चिन्तित बनेका छन् । खोरेत महामारीको सम्भावित जोखिम न्यूनीकरणका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारले संयुक्तरूपमा रोकथाम र नियन्त्रणका लागि खोरेतविरुद्ध भ्याक्सिन लगाउने र जैविक सुरक्षाका कार्यहरु अघि बढाएको केन्द्रका प्रमुख वरिष्ठ पशु चिकित्सक डा शोभा शर्माले बताउनुभयो ।
रोग नियन्त्रणका लागि कृषि तथा पशुपक्षी मन्त्रालय मातहतको पशु सेवा विभाग, केन्द्रीय भेटेरेनरी प्रयोगशाला, विज्ञ केन्द्र तथा महानगर पशु सेवा महाशाखाबाट पशु चिकित्सक तथा विज्ञ प्राविधिकको टोलीले रोग फैलिएको क्षेत्रमा अनुसन्धान तथा रोकथाम, नियन्त्रणको काम गरिरहेको उहाँको भनाइ छ । पशु चिकित्सक शर्माले भन्नुभयोे, “खोरेत फैलिएको सूचना आएलगत्तै रोग देखिएका क्षेत्रमा भ्याक्सिन लगाउन शुरु गरेका छौँ । रोग फैलँदै गएको र महामारीका रूप लिन सक्ने सम्भावनातर्फ सचेत रहँदै कृषकलाई समेत सावधानी र सुरक्षाका उपाय अवलम्बन गर्न आग्रह गर्दै पशुको आवतजावतको कार्य कम गर्न भनेका छौँ ।”
पोखरा महानगरपालिका पशु महाशाखाका अनुसार महानगरको वडा नं ७, १४, २६, २७ र वडा नं ५ का १५ पशु फार्म तथा गोठमा खोरेत रोग देखापरेको अहिलेसम्म पुष्टि भएको छ । रोग नियन्त्रण र रोकथामका लागि सबै वडामा पशु प्राविधिक परिचालित भएको र निःशुल्क खोप लगाउने तथा रोग लागेको पशुलार्ई निःरोगी पशुबाट टाढा राख्ने, जैविक सुरक्षा र सरसफाइका कार्य भइरहेको महाशाखा प्रमुख नवराज अधिकारीले बताउनुभयो ।
प्रकोप नियन्त्रणका लागि रोग देखिएको क्षेत्रमा विभिन्न ३२ टोली बनाएर भ्याक्सिन लगाउने, जैविक सुरक्षाका उपाय चुना, भिरकोन, फिनेल छर्ने र सरसफाइ गर्ने कार्य भइरहेको जानकारी दिँदै उहाँले हालसम्म १२ हजार ३५० पशुमा भ्याक्सिन लगाइएको जानकारी दिनुभयो ।
यसैगरी जिल्लामा अहिले पशुमा कृत्रिम गर्भाधान सेवासमेत स्थगन गरिएको छ । कृत्रिम गर्भाधानकर्ता फार्म तथा गोठमा सेवा दिन जाँदा एक ठाउँबाट अर्को ठाउँमा अझ रोग फैलन सक्ने भएकाले गर्भाधान सेवा केही समयका लागि स्थगन गरिएको भेटेरेनरी अस्पतालले जनाएको छ । खोरेत लागेपछि पशु झोक्राउने, मुखबाट र्याल काढिरहने, खुट्टा पाक्ने, दूध घटाउँदै जाने, घाँसदाना नखानेलगायतका लक्षण देखिने गरेको कृषकले बताएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij