Jun 16 2026 | २०८३, असार २ गते
बलेवा । बगानमै सुन्तला खोज्न आउनेले जसोतसो लैजान्छन् तर टिपेर बजार पठाउन किसानलाई सधैँ समस्या हुने गरेको छ । गाउँमै प्रदेश सरकारले बनाएको शीतभण्डार छ । चिसोमा शीतभण्डारमा राखेर गर्मी मौसममा बिक्री गर्दा कसरी बजार पठाउनु रु
बागलुङ नगरपालिका–८ सिगानाका किसानलाई सधैँ सुन्तला बजार पठाउन समस्या हुने गरेको थियो । आफैँ कार्टुन बनाउन महँगो पर्ने र दाताको आशामा रहेका किसानले कहिले नगरपालिका त कहिले कृषिसँग सम्बन्धित अन्य सङ्घ संस्थासँग गुहार माग्ने गरेका थिए । बजारमा रु १२० पर्ने कार्टुनमा २० किलोमात्रै सुन्तला अट्छ । सिजनमा रु पाँच प्रतिकिलो सुन्तला बिक्री गर्दा किसानको मुनाफा कार्टुनमै सकिने भएकाले आफैँले बनाउन नसकेको गणेश कृषि सहकारीका अध्यक्ष रामबहादुर खड्का बताउनुहुन्छ । साविकको कृषि विकास कार्यालयले सुन्तला उत्पादक किसानका लागि ९० प्रतिशत अनुदानमा कार्टुन वितरण गर्दथ्यो ।
सङ्घीयता कार्यान्वयन भएर कार्यालय खारेज भएसँगै किसानले गुहार माग्ने ठाउँ मेटियो । गत आवमा बागलुङ नगरपालिकाले सुन्तलाको बजारीकरणका लागि भनेर दिएको रु तीन लाख अनुदान पनि शीतभण्डारको व्यवस्थापनमा खर्च भएको सहकारीको तथ्याङ्कमा छ । गण्डकी प्रदेश सरकारले हरेक जिल्लामा कृषि ज्ञान केन्द्र स्थापनाको निर्णय गरेसँगै बागलुङमा स्थापना भएको ज्ञान केन्द्रले सुन्तला उत्पादक किसानलाई आशाको दियो बालेको छ । पहिले दुई जिल्ला हेर्ने गरी पर्वतमा रहेको ज्ञान केन्द्रमा पहुँच नभएका किसान कार्यालय स्थापनासँगै धाउन थालेका छन् ।
बिहीबार सिगानाका सुन्तला उत्पादक किसानले कार्यालयको तर्फबाट पहिरोपटक राहतको सास फेर्ने गरी सहयोग पाए । साविकको कृषि विकास कार्यालयले सुन्तला उत्पादक किसानकै लागि भनेर तयार पारेको सुन्तला राख्ने कार्टुन किसानलाई दिएको छ । झण्डै ७० हजार पर्ने कार्टुन किसानको समस्या देखेर अनुदानमा उपलब्ध गराएको ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताउनुभयो । “हामीले ७५० थान कार्टुन अनुदानमा दिएका हौँ, पहिले ९० प्रतिशत अनुदानमा दिने विधि थियो”, भट्टराईले भन्नुभयो, “यहाँ थन्किएर बस्ने किसानले दुःख पाउने भएको थियो ।”
किसान आफैँले ढुवानी गर्ने गरी कार्टुन पाएका छन् । सिजनमा शीतभण्डारमा राखेका सुन्तला बेसीजनमा बजार पठाउन कार्टुनले सहयता गर्ने अध्यक्ष खड्काले बताउनुभयो । “देख्दा सानो तर हामी किसानका लागि ठूलो सहयोग हो”, उहाँले भन्नुभयो, “एक पटक प्रयोग भएपछि सकिने वस्तु बनाइराख्न किसानलाई कठिन हुँदो रहेछ ।’ सिगानामा फलेको सुन्तलालाई बागलुङको परिचय दिने गरी बजार पठाउन सहज हुने उहाँको बुझाइ छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij