Jun 16 2026 | २०८३, असार २ गते
महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका–३ नयाँबस्तीका दलबहादुर कार्की डेढ वर्ष अटो चलाएर जीविकोपार्जन गर्न खटिनुभयो । ग्रामीण भेगमा अटो चलाएर घर परिवारको खर्च चलाउँदै आएका कार्कीले अहिले भने घरमै ‘इन्टरलक ब्लक’ ९सिमेन्टको इँटा० उत्पादन गरी गाउँघरमै बिक्री वितरण गरिरहनुभएको छ ।
बेलौरीमा पाँचदिने ब्लक बनाउने तालीम लिएर गाउँमै सानो उद्योग सञ्चालन गरिरहेका कार्कीले यतिबेला गाउँमा पाँच जनालाई रोजगारीसमेत दिएका छन् । “अटो चलाउँदा कच्ची सडकमा कमाएको जति अटोमै खर्च हुने अवस्था आएपछि व्यवसाय परिर्वतनको सोच बनाए”, कार्कीले रासससित भन्नुभयो, “अहिले दैनिक पाँच सय ब्लक तयार गरिरहेको छ ।”
कार्कीसहित एक महिनायता उक्त उद्योगमा सातजना कार्यरत छन् । आठ हजार ब्लक मौज्दात रहेको बताउँदै कार्कीले यहाँको दक्षिण क्षेत्रमा ब्लकको माग बढिरहेको जानकारी दिनुभयो ।
प्रतिब्लक रु ४५ मा बिक्री भइरहेकोे उद्योग सञ्चालनका लागि नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ ९एनएनएसडब्लुए० बाट अनुदान सहयोग मिलेको छ । “ब्लक बनाउने तालीमदेखि प्रेसर मेसिनसम्म हामीलाई एनएनएसडब्लुएबाट सहयोग पाइएको हो”, उहाँले भन्नुभयो, “अहिलेसम्म एक हजार ब्लक बिक्री भइसकेको छ ।” उहाँले घर बनाउँदा इँटाको ठाउँमा ब्लक प्रयोग गर्दा टिकाउ र भरपर्दो हुनाले माग बढिरहेको बताउनुभयो ।
त्यसैगरी बेलौरीकै स्थानीयवासी सुकबहादुर राना पनि यतिबेला इन्टरलक ब्लक बनाएर बिक्री वितरणमा सक्रिय हुनुभएको छ । “लकडाउनअघि भारतबाट मजदूर गरेर फर्किएको थिए”, रानाले भन्नुभयो, “गाउँमा बेरोजगार भएर बसिरहेका बेला ब्लक बनाउने तालीम लिए, अहिले नतिजा राम्रै आएको छ ।” गाउँमै युवाहरु मिलेर काम गरिरहेको बताउँदै रानाले भारतमा विगतमा गर्ने गरेको मिहिनेत अब स्वदेशमै गर्ने योजनामा रहेको जानकारी दिनुभयो । “ब्लक प्रयोग गरेर घर बनाउने हालैबाट शुरु भएकाले यसको माग पनि बढ्नेमा आशावादी छौँ”, रानाले भन्नुभयो, “गाउँका अरू युवाहरुलाई पनि आयमूलक काममा जोड्ने सोचमा छौँ ।”
नेपाल राष्ट्रिय समाज कल्याण सङ्घका जीविकोपार्जन कार्यक्रमका संयोजक राजकुमार सुनारले यहाँको बेलौरी र लालझाँडी गाउँपालिकाका तीनवटा स्थानमा इन्टरलक ब्लक बनाउने उद्योग सञ्चालनमा ल्याइएको बताउनुभयो । “हामीले जीविकोपार्जन कार्यक्रमअन्तर्गत अनुदान कोषबाट रकम दिएर युवाहरुलाई उक्त उद्योगमा लगाएका हौँ”, संयोजक सुनारले भन्नुभयो, “बेरोजगार युवालाई आयमूलक काममा लगाउने लक्ष्यअनुसार उद्योग सञ्चालनमा सहयोग गर्दै आएका छौँ ।”
उहाँले उक्त कार्यक्रमअन्तर्गत ग्रामीण बस्तीमा समूह तथा सहकारी सञ्चालनमा ल्याएर स्थानीयवासी तरकारी खेती, माछापालन, च्याउ खेती, पशुपालनलगायत विभिन्न आयमूलक काममा लागिरहेको जानकारी दिनुभयो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij