Jun 16 2026 | २०८३, असार २ गते
सिमकोट । हुम्लाको मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–६ मा रहेको बराइ स्वास्थ्यचौकी झण्डै दुई महिनादेखि स्वास्थ्यकर्मीविहीन बनेको छ । सात कर्मचारीको दरबन्दी रहेको बराइ स्वास्थ्यचौकीमा एक कार्यालय सहयोगीको भरमा कार्य सञ्चालन हुँदै आएको छ ।
मङ्सिर १५ गते यतादेखि कर्मचारी कोही नहुँदा कार्यालय सहयोगी मानबहादुर रोकायाको भरमा स्वास्थ्यचौकी सञ्चालन हुँदै आएको हो । एचए एक, अनमी दुई, अहेब दुई र कार्यालय सहयोगी एक गरेर सात जनाको दरबन्दी भए पनि स्वास्थ्यकर्मी कोही पनि नभएको यहाँका स्थानीयवासीले गुनासो गरेका छन् ।
कार्यालय सहयोगी रोकायाले सिटोमलबाहेक अन्य औषधि नचिनेका कारण सेवा लिन पुगेका बिरामीले दुई महिनादेखि रित्तो हात घर फिर्ता हुनुपरेको बताइएको छ । बराइगाउँका स्थानीयवासी बिरामी हुँदा सामान्य उपचारका लागि कोही साढे एक घण्टाको पैदल हिँडेर सर्केगाड स्वास्थ्यचौकीमा पुग्ने गरेका र कोही जिल्ला अस्पताल सिमकोट पुग्ने गरेको ६० वर्षीय स्थानीयवासी राना बुढाले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “म आँखाको बिरामी भएर स्वास्थ्यचौकी पुग्दा कोही नभेटेर रित्तै फिर्ता भएको छु, केही महिना अगाडि एक एचए सरुवा भएर गए ।” दरबन्दीअनुसार पालिकाले कर्मचारी नपठाउँदा यो समस्या निम्तिएको उहाँको गुनासो छ ।”
दुई जनाको दरबन्दी रहेको अहेव समायोजन भएदेखि गाउँपालिकाले पठाएको छैन । दुई करार अनमी कर्मचारी स्थानीयवासी भए पनि उनीहरु उपस्थित नहुने गरेको बताइएको छ । कार्यालय सहयोगी रोकायाले आफू एक्लै भएकाले काम गर्न गाह्रो भएको, सिटामोलबाहेक अन्य औषधि चिन्न नसकेकाले बिरामी आउँदा समस्या हुने गरेको बताउनुभयो । गाउँमा यतिबेला बिरामीको चाप बढेको छ । वडा र गाउँपालिका मौन बस्नुका साथै यस क्षेत्रमा स्वास्थ्यको स्थिति डामाडोल बनेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij