Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

परिवार व्यवस्थापनमा सहयोगी ‘जन्मान्तर’

परिवार व्यवस्थापनमा सहयोगी ‘जन्मान्तर’

  • दुर्गा देवकोटा, टीकापुर । कैलालीको जानकी गाउँपालिकाका कमला विकको पहिलो सन्तान छोरी छिन् । छोरी चार वर्षकी भइन् । कमला दम्पतीले भर्खरै अर्को बच्चा पाउने योजना बनाएका छन् । छोरी विद्यालय जाने भएपछि उनीहरुले अर्को बच्चा पाउने योजना बनाएका हुन् । 

    onlinepatrika
    Arghakhachi

    “हामी दुई बच्चाबीच जन्मान्तर हुनुपर्छ भनी पहिल्यै तयार थियौँ, परिवारले अर्को बच्चा पाउन निकै दबाब दिएका छन् तर हामी दम्पतीबीच जेठी छोरी पाँच वर्ष पुगेपछि पाउने सल्लाह थियो”, कमलाले भन्नुभयो, “अब छोरी विद्यालय जान थालिन्, हामी पनि अर्को बच्चा पाउने योजना बनाउँदैछौँ ।” कमला पति छविन्द्र विक पहिलो बच्चा हुर्केपछि अर्को बच्चा पाउँदा आमा र बच्चाको स्याहार हुने भएकाले आफूहरुले जन्मान्तर गरेको बताउनुभयो । 

    AGNI GROUP

    जानकी गाउँपालिकाकै सुनिता बुढाका दुई सन्तान छन् । उहाँका पहिलो र दोस्रो सन्तानबीचको जन्मान्तर पाँच वर्षको छ । सुनिताले पहिलो सन्तान जन्माइसकेपछि उच्च मावि तहको पढाइ शुरु गर्नुभयो । पछि पतिको सल्लाहअनुसार दोस्रो सन्तान जन्माउनुभयो । यसरी सन्तानबीचको जन्मान्तरले आमा र बच्चाको स्वास्थ्य र पोषणका दृष्टिले समेत राम्रो रहेको उहाँ बताउनुहुन्छ ।

    “विवाहलगत्तै पहिलो बच्चा जन्मियो, पहिलो बच्चा एक वर्षको भएपछि म पुनः कलेज जान थालेँ, ११ र १२ कक्षा पढेर सकेँ”, सुनिताले भन्नुभयो, “दम्पतीबीचको सल्लाहबमोजिम पाँच वर्षपछि अर्को बच्चा पायौँ, हाल सजिलो भएको छ । ठूलो बच्चाले सानो बच्चालाई खेलाउन सक्छ ।”  सुनिता जन्मान्तरका कारण आफ्नो स्वास्थ्यमा समेत ख्याल गर्न भ्याएको बताउनुहुन्छ ।

    “लगातार वा बर्सेनि बच्चा जन्माएका आमाको स्वास्थ्य जोखिममा पर्छ । उनीहरुको खानपानमा स्याहार पुग्दैन”, उहाँ भन्नुहुन्छ, “मेरो र बच्चाको स्वास्थ्य र पोषणका लागि हामीबीच सहमति थियो, पहिलो बच्चापछि अस्थायी साधन प्रयोग गर्यौँ, जसले जन्मान्तरमा सघायो ।” 

    कैलालीको टीकापुर नगरपालिकाका धना साउद सुत्केरी भएको एक महिना पुगेको छैन । यो उहाँको पहिलो सन्तान हो । उहाँ अब करिब तीन÷चार वर्षपछि मात्रै अर्को सन्तान जन्माउने योजनामा हुनुहुन्छ । “जन्मान्तरबिना लगातार बच्चा जन्माएका आमामा धेरै स्वास्थ्य समस्या देखेकी छु । विशेषगरी ढाड र पाठेघरसम्बन्धी समस्या बढी देखिने गरेका छन्”, साउद भन्नुहुन्छ, “म त जन्मान्तर गर्नुपर्छ भनी सचेत छु । सन्तान त योजनाबिना जन्माउने कुरा होइन । दम्पतीबीच सल्लाह गरेर जन्माउने हो, हामीबीच सल्लाह छ ।”

    सन्तानबीचको फरक नभई बर्सेनि बच्चा जन्माउँदा आमा र बच्चाको स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पर्ने गर्दछ । जसको उदाहरण हुनुहुन्छ कैलालीकै सीतादेवी विक । उहाँ तीन सन्तानको आमा हुनुहुन्छ । दोस्रो र तेस्रो सन्तानबीच मात्र १५ महिनाको जन्मान्तर भएका कारण हाल उहाँले धेरै समस्या भोगिरहनुभएको छ । रोजगारका सिलसिलामा पति भारतमा भएका कारण उहाँलाई झन् समस्या भइरहेको छ । “मेरो स्वास्थ्यमा धेरै समस्या छ । पाठेघरमा समस्या भएका कारण आजभोलि गह्रँुगो काम गर्न सक्दिनँ, तल्लो पेट दुख्ने, ढाड दुख्नेजस्ता समस्याले सताएको छ”, सीतादेवीले भन्नुभयो, “चिकित्सककहाँ उपचारमा जाँदा सुत्केरी अवस्थामा स्याहार भएन भन्छन् । मैले लगातार बच्चा जन्माएकै कारण यस्तो समस्या भोगेकी हुँ ।”

    बर्सेनि सन्तान जन्माएकै कारण समस्या भोगेकी टीकापुर–७ की सुदेश्नी डगौराको र बच्चाको स्वास्थ्यमा समस्या छ । डगौराले पाँच वर्षमा तीन बच्चालाई जन्म दिनुभयो । “पहिलो बच्चा छोरा जन्मियो, पहिलो बच्चा १७ महिनाको थियो, छोरी जन्मिइन्, दोस्रो सन्तान पनि हुर्कन नपाउँदै अर्को छोरी जन्मिइन”, सुदेश्नीले भन्नुभयो, “पाँच वर्षमुनिका तीन बच्चा कसरी स्याहार्नु रु मलाई निकै दुःख छ । पति ज्यालादारी गर्न दिनभरि घरबाहिर हुन्छन् । म एक्लैले तीन बच्चा स्याहार्न कठिन भएको छ ।”

    सुदेश्नीको स्वास्थ्य कमजोर छ । उहाँको मात्र होइन तीनै बच्चा पनि स्वस्थ छैनन् । “एउटा बच्चालाई कुपोषण भएको छ । बच्चा बिरामी भइरहन्छन्”, उहाँ भन्नुहुन्छ, “पतिको कमाइ थोरै छ । बच्चाको उपचार गर्नु कि, आफूले खानु रु उपचारमा धेरै खर्च भइसकेको छ ।”

    गाउँघरमा पछिल्लो समय जन्मान्तरका लागि अस्थायी साधनप्रति दम्पतीको आकर्षण बढिरहेको महिला स्वास्थ्य स्वयंसेविकाको भनाइ छ । सन्तानबीच जन्मान्तर राख्नेबारेमा आफूहरुले पनि समय–समयमा जन्मान्तर र अस्थायी साधन प्रयोगबारे छलफल र जानकारी दिने गरेको जोशीपुर गाउँपालिका–१ का महिला स्वास्थ्य स्वयंसेविका दुर्गा चौधरी बताउनुहुन्छ ।

    सन्तानबीच जन्मान्तर कायम गर्नेको सङ्ख्यामा सुधार आएको छ । अधिकांश परिवार जन्मान्तरबारे सचेत बन्न थालेका छन् । “हामी पहिलो बच्चा जन्मनेबित्तिकै जन्मान्तर र अस्थायी साधन प्रयोगबारे दम्पतीलाई नै सल्लाह दिन्छौँ, हामीले बर्सेनि सन्तान जन्मँदाको असरबारे जानकारी दिन थालेका छौँ”, उहाँ भन्नुहुन्छ, “जन्मान्तरमा ध्यान नदिए महिला र बच्चाको स्वास्थ्य जोखिममा पर्न सक्छ ।”

    सन्तानबीच जन्मान्तर नहुँदा आमा र बच्चाको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पर्दछ । सन्तानबीच जन्मान्तर नहुँदा महिलाको पाठेघरमा विभिन्न समस्या आउनुका साथै रक्तश्राव हुने र गर्भ नरहने हुनसक्ने टीकापुर अस्पतालका सिनियर स्टाफ नर्स कल्पना खड्का बताउनुहुन्छ । “बर्सेनि सन्तान जन्माउँदा आमा र बालबालिकामा मानसिक र शारीरिक समस्या आउने गर्दछन् । मातृ तथा बाल मृत्युदर बढ्ने जोखिम रहन्छ”, स्टाफ नर्स खड्का भन्नुहुन्छ, “बर्सेनि जन्मिएका सन्तानको स्याहारसुसार राम्रो हुँदैन, बच्चाको मस्तिष्क विकास हुने समयमा स्याहार नपाएको बच्चा कस्तो होला रु त्यसैले हरेक दम्पती सचेत हुनुपर्छ ।”

    स्टाफ नर्स खड्का टीकापुर अस्पतालमा सेवा लिन आउने हरेक गर्भवती र बच्चाका आमालाई जन्मान्तरबारे जानकारी दिने गरेको बताउनुहुन्छ । “सेवा लिन महिला आउँछन्, बच्चा जन्माउने कुरा दम्पतीबीचको सल्लाह हो”, उहाँ भन्नुहुन्छ, “हामीले श्रीमान् पनि ल्याएर आउनु भन्छौँ, सन्तानबीच कम्तीमा पनि तीन वर्ष जन्मान्तर राख्न सल्लाह दिन्छौँ । आमा र बच्चाको स्वास्थ्य र पोषणका दृष्टिले पनि जन्मान्तर आवश्यक छ ।’’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट