Jun 18 2026 | २०८३, असार ४ गते
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को महाधिवेशनबाट संघको संशोधित विधान र आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको छ ।
विशेष महाधिवेशनमा संघको वार्षिक प्रतिवेदन महासचिव डा. हेमराज शर्मा, आर्थिक प्रतिवेदन संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठ र विधान संशोधन प्रस्ताव विधान संशोधन सुझाव समितिका संयोजक भूषण घिमिरे र संघका उपाध्यक्ष मन केसीले संयुक्त रुपमा प्रस्तुत गरेका छन् ।
महाधिवेशनले एनआरएनएका कोषाध्यक्ष महेशकुमार श्रेष्ठले प्रस्तुत गरेका संघको आर्थिक वर्ष २०७४-७५ र २०७५-७६ को आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । संघमा आर्थिक व्यवस्थापन र पारदर्शीता कायम राख्न गर्नुपर्ने सुधार सम्बन्धमा सुझाव दिनका लागि गोवा कटुवालका संयोजकत्वमा रञ्जित महतो र डिला खरेल सदस्य रहेको एक समिति गठन गरिएको छ ।
महाधिवेशनमा प्रस्तुत विधान संशोधनको प्रस्ताव सर्वसम्मतिले अनुमोदन गरियो । विधानमा रहेका संशोधित प्रावधानअनुरुप काम कारवाही अगाडि बढाउने प्रतिबद्धता जाहेर गरियो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, एनआरएनएका अध्यक्ष कुमार पन्त, प्रमुख संरक्षक डा. शेष घले, पूर्वाध्यक्ष एवम् अन्य संरक्षक देवमान हीराचन, जीवा लामिछाने, भवन भट्ट, रामप्रताप थापा, संघ अन्तर्गतका राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी एवम् प्रतिनिधि तथा नेपाली काँग्रेसका नेता गोविन्द भट्टराईलगायतको सहभागिता थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij