
Aug 02 2025 | २०८२, साउन १७ गते
काठमाडौं। धनुषा महेन्द्रनगर स्थित जिल्ला प्रहरी कार्यालयले १५ वर्षीया किशोरी अञ्जली कुमारी यादवको हत्या आरोपीलाई पक्राउ गरेको छ ।
आरोपित क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहलाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको हो । जिल्ला प्रहरीका अनुसार धनुषाको बटेश्वर गाउँपालिका–५ घर भई जनकपुरधाम उपमहानगरपालिका–४ कटैयाचौरीस्थित डेराको कोठामा बस्दै आएकी १५ वर्षीया अञ्जलीको गत सोमबार राती खुकुरी प्रहार गरी हत्या गरिएको थियो ।
आरोपित साहलाई हिजो राति करिब साढे १० बजे क्षीरेश्वरनाथ नगरपालिका–९ बाट पक्राउ गरिएको जिल्ला प्रहरीका प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए ।
रामबाबु यसअघि आफ्नो श्रीमतीको हत्या गरी पाँच वर्ष जेल सजाय काटेर २०७७ सालमा रिहा भएका थिए । साहले सोमबार राति खुकुरी प्रहार गर्दा अञ्जलीको मृत्यु भएको थियो भने अञ्जलीकी आमा ३५ वर्षीया आशा यादव र मिथिला नगरपालिका–१ ढल्केवर बस्ने होविन्द्र यादवको १४ वर्षीया छोरी आशा यादव घाइते भएका थिए ।
आशाको धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । आशा रामबाबुकै प्रेमी रहेको र उनकै कारण घटना घटेको देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij