Jun 07 2026 | २०८३, जेठ २४ गते
नयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ११८ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५४ हजार ३९२ जना पुगेको छ । यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आइतबारसम्म एक करोड सात लाख ५७ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा ११ हजार ४२७ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड सात लाख ५७ हजार ६१० पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।
मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड चार लाख ३४ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ६८ हजार २३५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।भारतमा गत जनवरी १६ देखि कोभिड –१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि हालसम्म ३७ लाख भन्दा बढी व्यक्तिले खोप लगाइसेकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायः स्वास्थ्यकर्मीहरु रहेका जनाइएको छ ।
भारतको राष्ट्रिय राजधानी दिल्लीमा आइतबार १४० जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र ४ जनाको मृत्यु भएको छ । भारतमा कोभिड¬¬–१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ८३५ को मृत्यु भइसकेको छ ।
यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर १९ करोड ९२ लाख ६३५ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । आइतबार एकै दिनमा मात्र पाँच लाख ४ हजार भन्दा बढी व्यक्तिलाई कोभिड¬–१९ परीक्षण गरेको जनाइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij