Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । सरकारले घोषणा गरेअनुसार आजबाट रौतहटमा सेवाग्राहीलाई घरआँगनमै पासपोर्ट वितरण सेवा औपचारिक रूपमा सुरु गरिएको छ । जिल्ला हुलाक कार्यालय रौतहटमार्फत जिल्लाका सेवाग्राहीलाई घरमै पासपोर्ट उपलब्ध गराउन सुरु गरिएको हो ।
यस सेवाअन्तर्गत पहिलो लाभग्राहीको रूपमा गौर नगरपालिका–२ निवासी राजु राम रहेका छन् । रोजगारीको सिलसिलामा भारतको गुजरातमा मजदुरी गर्न गएका रामको पासपोर्ट उनकी आमा गुडिया देवीले बुझेकी छन् ।
रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले गुडिया देवीलाई पहिलो पासपोर्ट हस्तान्तरण गर्दै अभियानको औपचारिक शुभारम्भ गरेका थिए । कार्यक्रममा बोल्दै उनले सरकारको सेवा जनताको घरदैलोमै पुर्याउने उद्देश्यअनुसार यो अभियान सुरु गरिएको बताए ।
घरमै सरकारी सेवा प्राप्त भएपछि आफू निकै खुसी भएको प्रतिक्रिया दिँदै गुडिया देवीले नयाँ व्यवस्थाले सर्वसाधारणलाई सहजता मिलेको बताइन् । विशेषगरी वैदेशिक रोजगारी तथा विभिन्न कामका लागि बाहिर रहेका नागरिकका परिवारलाई यो सेवा प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
पासपोर्ट वितरणमा हुलाक सेवाको प्रयोग गरिएपछि सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने झन्झट कम हुनुका साथै समय र खर्चसमेत बचत हुने विश्वास गरिएको छ । रौतहटमा सुरु गरिएको यो सेवा सरकारी सेवा प्रवाहलाई अझ जनमुखी, प्रभावकारी र सहज बनाउने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij