
Aug 19 2025 | २०८२, भदौ ३ गते
काठमाडौं । बेरुजु फर्छ्यौंट गरी वित्तीय सुशासन कायम गर्न गृह मन्त्रालयको क्रियाशिलता बढेको छ ।
गृहमन्त्री रमेश लेखकको गृह नेतृत्वको पहिलो वर्षमा आर्थिक वर्ष २०८१/०८२ मा हालसम्मकै उच्च २ अर्व ३६ करोड १२ लाख ६३ हजार बेरुजु रकम गृह मन्त्रालयले फर्छ्यौंट गरेको छ ।
अघिल्लो आर्थिक वर्षसम्म गृह मन्त्रालय अन्तर्गत कुल बेरुजु ३ अर्ब ७२ करोड ४५ लाख ८७ हजार फर्छ्यौंट बाँकी रहेको थियो । गृह मन्त्रालय आर्थिक प्रशासन शाखाका प्रमुख उपसचिव खडानन्द अधिकारीले गृहमन्त्री लेखकको निर्देशन तथा गृहसचिवको समन्वय तथा निर्देशन र मातहतका निकायको सहयोग र आर्थिक प्रशासनको सक्रियताले सम्परीक्षण र वित्तीय सुशासन कायम गर्न मन्त्रालय अग्रस्थानमा रहेको बताए ।
मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा सम्परीक्षण तथा फर्छ्यौंट प्रगति ६३.१७ प्रतिशत रहेको छ । ‘चालु आर्थिक वर्षमा अब १ अर्व ४७ करोड ४५ लाख मात्रै कुल बेरुजु बाँकी छ,’ आर्थिक प्रशासन शाखाका प्रमुख अधिकारीले भने, ‘कार्य योजना बनाएरै मन्त्रालय बेरुजु फर्छ्यौंट लागेको छ ।’
उनले तीन वर्ष यताको बेरुजुको अवस्था हेर्दा आर्थिक वर्ष २०८१/०८२ मा लेखापरीक्षण अंकको आधारमा बेरुजु ०.०९ प्रतिशतमा झरेको बताए । ‘आर्थिक वर्ष २०७८/०७९ मा १.४१ प्रतिशत लेखापरीक्षण अंकको आधारमा बेरुजु थियो,’ अधिकारीले भने, ‘अहिले शुन्य प्रतिशतमा झरेको छ ।’
मन्त्रालयले बेरुजु फर्छ्यौंट समन्वयका लागि आन्तरिक व्यवस्थापन महाशाखाका प्रमुखको संयोजकत्वमा समिति समेत गठन गरेको छ । समितिले विगत वर्षको बेरुजु लागतलाई अभिलेखीकरण गर्ने, नियमित कार्य योजना बमोजिम समितिको बैठक बसेर प्रगति समीक्षा गर्नेलगायतका काम निरन्तर गर्दै आएको छ ।
त्यसका साथै मन्त्रालयले असुल उपर र पेश्की बेरुजुका सम्वन्धमा सम्बन्धित निकायका र व्यक्तिलाई ताकेता गर्ने बेरुजु फर्छ्यौंट, सम्परीक्षण र वित्तीय सुशासन सम्वन्धी काम गर्दै आएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij