Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

दाहाल–नेपाल समूहद्वारा आधिकारिकता दाबी, अब के हुन्छ ?

दाहाल–नेपाल समूहद्वारा आधिकारिकता दाबी, अब के हुन्छ ?

  • काठमाडौँ । राजनीतिक रूपमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले आधिकारिकता दाबी गर्दै मंगलबार निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ। प्रतिनिधिसभा विघटनपछि नेकपाका केपी शर्मा ओली समूह र दाहाल–नेपाल समूहले डेढ महिना छुट्टाछुट्टै बैठक, एकअर्कालाई कारबाही, आमसभा र पत्राचार गरेपछि आयोगमा औपचारिक रूपमा अधिकारिकता दाबी गर्दै निवेदन परेको हो।

    onlinepatrika
    Arghakhachi

    निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निवेदन दर्ता भई संग्लन कागजातका आधारमा अध्ययन सुरु भएको बताए। ‘उहाँहरूको निवेदन दर्ता भएको छ। उहाँहरूले ऐनको दफा ४३ र ४४ अनुसार निरूपण गरिपाऊँ भन्नुभएको छ,’ श्रेष्ठले भने, ‘सबालचाहिँ पदाधिकारी हेरफेर र निर्णयको आधिकारिकतासम्बन्धमा भन्नुभएको छ।’ निवेदन र संग्लन कागजातको अध्ययन गरी आयोगले आवश्यक निर्णय लिने उनले बताए।

    AGNI GROUP

    नेकपाका विवादरत दुवै पक्षले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम विवरण अद्यावधिकका लागि पत्राचार गरे पनि आयोगले त्यसलाई अस्वीकार गरेपछि दाहाल–नेपाल समूहले ऐनको दफा ४४ अनुसार २ सय ७५ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित आयोगमा आधिकारिकता दाबी गरेको हो। आधिकारिकता दाबी गर्न दाहाल, नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, नेताहरू नारायणकाजी श्रेष्ठ, राजेन्द्र पाण्डे, लीलामणि पोखरेललगायतको टोली आयोग पुगेको थियो।

    अब के हुन्छ ?

    दाहाल–नेपाल समूहले आयोगमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिकता दाबी गरेको छ। ऐनको दफा ४३ मा दुई वा दुईभन्दा बढी दलका पक्षबीच दलको नाम, छाप, विधान, झन्डा, चिह्न, पदाधिकारी र केन्द्रीय समितिको निर्णयको आधिकारिकतामा विवाद भए त्यस्तो विवादको निरूपण आयोगबाट हुने उल्लेख छ। ऐनको दफा ४४ मा विवाद निरूपणसम्बन्धी कार्यविधि तोकिएको छ। जसअनुसार दलको नाम, छाप, झन्डा वा चिह्नसम्बन्धी विवाद भए त्यस्तो नाम, छाप, विधान, झन्डा वा चिह्न दाबी गर्नेले र दलको पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको आधिकारिकता दाबी गर्ने पक्षले केन्द्रीय समितिको चालीस प्रतिशत सदस्यको हस्ताक्षरसहित विवाद प्रारम्भ भएको तीस दिनभित्र आयोगसमक्ष आधार तथा प्रमाणसहित दाबी पेस गर्नुपर्ने व्यवस्था छ।

    तर नेकपामा गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा गरेसँगै विवाद उत्पन्न भएकाले ४५ दिनपछि गरिएको आधिकारिकता दाबीले मान्यता पाउँछ कि पाउँदैन भन्ने प्रश्नसमेत खडा भएको छ। ‘ऐनको दफा ४४ मा दलका पक्षहरूबीच आपसी विवाद सुरु भएको ३० दिनभित्र आधार तथा प्रमाणसहित दाबी पेस गर्नुपर्ने व्यवस्था छ। प्रतिनिधिसभा विघटनसँगै विवाद सुरु भएको मान्ने हो भने ४५ दिन बितिसकेको छ,’ एक पूर्वआयुक्तले भने, ‘हदम्याद समाप्त भएपछि पेस भएको निवेदन आयोगले कसरी लिन्छ वा लिँदैन भन्ने भएपछि मात्रै के निर्णय लिन्छ भन्ने कुरा आउला त्यसकारण यसबारे केही भन्न सकिँदैन।’

    आयोगले हदम्याद नाघिसकेको अवस्था वा विवाद सुरु भएको ३० दिन बितिसकेको आधार देखाउँदै अस्वीकार गरेको अवस्थामा पुनः नेकपाका दुवै पक्षमध्ये कुनैले पनि आधिकारिकता पाउने छैनन्। नागरिक दैनिकमा समाचार छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij