Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

बाढी प्रभावित क्षेत्रका बालबालिकालाई शैक्षिक सामग्री र न्यानो लुगा

बाढी प्रभावित क्षेत्रका बालबालिकालाई शैक्षिक सामग्री र न्यानो लुगा

  •  काठमाडौं । भुजीखोलामा आएको बाढीबाट प्रभावित ढोरपाटन नगरपालिका–९ सुप्राङको जनचेतना र सुकुर्दुङको सरस्वती आधारभूत विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री र न्यानो लुगा प्रदान गरिएको छ । बागलुङ घर भई हाल हङकङमा रहनुभएका टीका र जुनु रानाको पहलमा स्थापित ‘स्वास्थ्य तथा विपन्न विद्यार्थी अक्षयकोष’मार्फत दुवै विद्यालयका पाँचरपाँच बालबालिकालाई शैक्षिक सामग्री र न्यानो लुगा सहयोग गरिएको अक्षयकोषका सञ्चालक विजय रानाले जानकारी दिनुभयो ।

    onlinepatrika
    Arghakhachi

    विद्यालयमै पुगी नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल शिरीष र ढोरपाटन नगरपालिका–७ का वडाध्यक्ष दीपक थापाले संयुक्तरूपमा सामग्री हस्तान्तरण गर्नुभएको थियो । रु ६० हजार बराबरको शैक्षिक सामग्री र लत्ताकपडा प्रदान गरिएको सञ्चालक रानाको भनाइ छ ।

    AGNI GROUP

    विद्यार्थीले वर्ष दिनलाई पुग्ने गरी कापी, कलमलगायत स्टेशनरी सामग्री, झोला र एकरएक थान ज्याकेट पाएका छन् । बाढीका कारण अभिभावक गुमाएका र घरको आर्थिक स्थिति अत्यन्त कमजोर भएका बालबालिका छनोट गरी शैक्षिक सामग्री सहयोग गरिएको हो । अर्थाभावकै कारण बालबालिकाको पढाइमा असर नपरोस् भनेर कोषमार्फत सहयोग गरिएको सञ्चालक रानाले बताउनुभयो । जनचेतना आधारभूत विद्यालयका प्रधानाध्यापक रामबहादुर घर्तीमगरले दाताको सहयोगले बाढी प्रभावित परिवारको घाउमा मलमपट्टी लागेको प्रतिक्रिया दिनुभयो । “बाढी प्रभावितको पीडा विस्तारै कम हुँदै गएको छ, धेरैतिरबाट राहत सहयोग आइरहेको छ”, उहाँले भन्नुभयो ।

    विद्यालयमा अध्ययनरत ३० प्रतिशत बालबालिकाको किताब, कापीसहित सबै पठनपाठनका सबै सामग्री बाढीले बगाएको प्रअ घर्तीमगरको भनाइ छ । बाढीले सो विद्यालय पनि पूर्णरूपमा क्षतिग्रस्त बनेको थियो । भवन नै नभएपछि विद्यार्थीलाई खुला चौरमा राखेर पढाइएको विद्यालयले जनाएको छ ।

    पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले बाढीबाट अति प्रभावित बालबालिकाका लागि कोषले गरेको सहयोग सराहनीय रहेको उल्लेख गर्नुभयो । उहाँले न्यून आय भएका परिवारका बालबच्चाको पढाइ सुनिश्चितताका लागि सबै पक्षको पहल र योगदान चाहिने बताउनुभयो । वडाध्यक्ष थापाले बाढीबाट क्षतिग्रस्त विद्यालय भवन छिटो पुनःनिर्माण गर्नुपर्नेमा जोड दिनुभयो । “यो जाडोमा बालबालिका भुइँमा बसेर पढिरहेका छन्, साहै्र दर्दनाक छ”, उहाँले भन्नुभयो, “यस क्षेत्रमा न्यून आय भएका परिवार बढी छन्, जसका कारण बालबच्चालाई पनि राम्रो पढ्ने वातावरण छैन ।”

    बाढीले सरस्वती आधारभूत विद्यालयका तीन कोठा र शौचालय क्षतिग्रस्त बनाएको थियो । कक्षाकोठा अभावमा कक्षा १ र २ का विद्यार्थीलाई सँगै राखेर पढाउने गरिएको विद्यालयका प्रधानाध्यापक देवेन्द्रकुमार घर्तीमगरले बताउनुभयो । खोला किनारमा भएकाले विद्यालय सँधै बाढीको जोखिममा छ । स्वास्थ्य र शिक्षा क्षेत्रलाई लक्षित गरी अक्षयकोष स्थापना गरिएको सञ्चालक रानाले बताउनुभयो । विपन्नताका कारण उपचारबाट बञ्चित हुनु परेका व्यक्तिलाई पनि कोषमार्फत आर्थिक सहयोग गर्ने गरी कार्यविधि बनाइएको उहाँको भनाइ छ । कोष परिचालन गरेर समुदायस्तरमा स्वास्थ्य सचेतनाका कार्यक्रम पनि सञ्चालन गरिने भएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij