Jun 18 2026 | २०८३, असार ४ गते
नेपालले बासमती धान नेपालको हो भनी दाबी गरेको विषयमा आफ्नो प्रमाण युरोपेली सङ्घ (ईयू)लाई पठाएको छ । भारत र पाकिस्तानले बासमती धान आफ्नो देशको हो भन्दै आधिकारिकताका लागि ईयूमा दाबी पेस गरेपछि नेपालले पनि सो धान आफ्नो देशको हो भनी डिसेम्बर ९ मा दाबीसहितको पत्र दर्ता गराएको थियो । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले बिहीबार नेपालको प्रमाण ईयूलाई पठाएको हो ।
बासमती धानका लागि तीन देशबाट दाबी आएपछि ईयूले तीनवटै देशलाई फेब्रुअरीको पहिलो हप्ताभित्र आआफ्नो प्रमाण पेस गर्न भनेको थियो । त्यसअनुसार नेपालले प्रमाण जुुटाएर पठाएको हो ।
नेपालले १३ बुँदामा आफ्नो दाबी प्रस्तुुत गरेको छ। ती १३ बुँदे दाबीलाई पुष्टि गर्न ८० वटा प्रमाण पेस गरेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) राष्ट्रिय जिन बैङ्कका वरिष्ठ वैज्ञानिक डा. बालकृष्ण जोशीले जानकारी दिए ।
वैज्ञानिक जोशीको नेतृत्वमा बासमती धानबारे अध्ययन गर्न अध्ययन समिति बनेको थियो। सो समितिले एक महिना लगाएर अध्ययन गरेर प्रमाण पेस गरेको वैज्ञानिक जोशीले बताए ।
‘सन् १९६० देखिका प्रमाणबारे हामीले अध्ययन गरेका छौँ, उनले भने, “त्यो बेलादेखि नै बासमती धानका लागि नेपालमा अनुसन्धान भएका छन्। त्यतिबेला देखिका डकुुमेन्ट तथा गोरखापत्र अध्ययन गरेर प्रमाण जुुटाएका छौँ।’ लुुम्बिनीमा गएर त्यहाँका किसानसँग कुराकानी गर्नुका साथै विभिन्न पुराना व्यक्तिसँग पनि कुराकानी गरिएको वैज्ञानिक जोशीले बताए । गोरखापत्र दैनिकमा सुरेशकुमार यादवले समाचार लेखेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij