Jun 13 2026 | २०८३, जेठ ३० गते
ललितपुर । नेकपा (एमाले) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुरको क्षेत्र नं.२ मा घरदैलो कार्यक्रम शुरू गरेको छ । उम्मेदवार प्रेमबहादुर महर्जनले घरदैलो अभियान शुरु गरेका हुन् ।
महर्जनले आफ्नै घर रहेको गुइटोलबाट कार्यक्रम आरम्भ गरे । त्यहीँ चुनाव प्रचार कार्यालयको उद्घाटन पनि गरेका छन् । निर्वाचन आयोगले सोमबारदेखि झण्डा तथा प्रचार सामग्री सहित मत माग्न पाउने गरी जारी गरेको निर्वाचन तालिकाअनुसार एमाले, ललितपुर २ ले औपचारिक रूपमा घरदैलो शुरू गरेको प्रचार टीमकी सीता पोखरेलले बताइन् । त्यहाँ एमाले केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकार निर्वाचन परिचालन कमिटीका संयोजक छन् ।
पोखरेलका अनुसार ललितपुर महानगरको ७ र ८ नम्बर वडामा सोमबार संयुक्त घरदैलो गरिएको छ । त्यसक्रममा पिन्छें, सुबहाल ढुंगेधारा, पिलाछें, त्यता टोल, चपट गणेश, सुन्धारा भएर लोल, भोलढोका, बालकुमारी मन्दिर हुँदै पुनः गुइटोलमा पुगी समापन भएको थियो ।
धलाछेंमा स्थानीयबीच संक्षिप्त मन्तव्य दिँदै उम्मेदवार महर्जनले पार्टीको चुनावी घोषणापत्र तथा क्षेत्रगतरुपमा आफ्नो व्यक्तिगत प्रतिबद्धता पत्र लिई मतदाताको घरघरमा पुग्ने बताए । आफू पहिले पनि निर्वाचित भएकाले मतदाताको भरोसा आफूमा रहेको भन्दै उनले विकास निर्माणमा पनि पहल गर्न सकेको दाबी गरे । उक्त क्षेत्रमा महालक्ष्मी नगरपालिका र ललितपुर महानगरको ९ वटा वडा पर्दछन् । एमालेको चुनावी अभियान महानगर क्षेत्रको घरदैलो पूरा गरी महालक्ष्मी नगर क्षेत्रमा प्रवेश गर्ने पोखरेलले बताइन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij