Jun 19 2026 | २०८३, असार ५ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारले ल्याएको बजेट पूर्ण नभए पनि जनपक्षीय र देश निर्माणमा केन्द्रित रहेको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अर्थमन्त्रीले स्वयं बजेटले सबै क्षेत्रलाई शतप्रतिशत समेट्न नसकेको स्वीकार गरे पनि सकारात्मक विषयहरूलाई सम्बोधन गर्ने प्रयास गरेको बताए।
उनले भने,‘अर्थ मन्त्रालय सम्हाल्दै गर्दा अर्थमन्त्रीले बारम्बार भन्नुभएको छ, हामीले बनाएको यो बजेटले सबै कुरा शतप्रतिशत समेटेको छ भन्ने कुरामा हामी पनि विश्वस्त छैनौँ। तर साँच्चै जनपक्षीय र देश निर्माण गर्ने प्रक्रियामा र सबै राजनीतिक दलले बोकेका सकारात्मक कुराहरूलाई सम्बोधन गर्ने गरी सशक्त प्रयास गरेका छौँ।’
बजेटमार्फत मध्यम वर्ग सुदृढीकरण र कर प्रणाली सुधारको प्रयास गरिएको उल्लेख गरे। रास्वपाको मात्र एजेन्डा नभई प्रतिपक्षी दलहरूले पनि उठाउँदै आएको विषय बजेटमा सम्बोधन हुँदा पनि प्रतिपक्षबाट रचनात्मक स्वागत नदेखिएको टिप्पणी गरे।
उनले थपे, ‘प्रतिपक्षले उठाएका महत्त्वपूर्ण मुद्दाहरू सम्बोधन हुँदै गर्दाखेरि पनि प्रतिपक्षबाट त्यसको रचनात्मक स्वागत भएको देखेन। अझ विरोध कसरी गर्न सकिन्छ भनेर गरिएको देखियो । म यसलाई सकारात्मक रूपमै लिन्छु र प्रतिपक्षको धर्म निर्वाह गरेको भनेर बुझ्छु।’
तलब तथा सेवामा लाग्ने करको दायरालाई विस्तार गर्दै ६ लाख रुपैयाँबाट १० लाख रुपैयाँसम्म पुर्याउने तथा ३९ प्रतिशतसम्म कर तिर्नुपर्ने भन्ने अवस्थालाई घटाउने घोषणा गरिएको उनले बताए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij