Jun 13 2026 | २०८३, जेठ ३० गते
सर्वोच्च अदालतले गत ११ गते प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय बदरको फैसला सुनाउँदा नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल चितवनको एक रिसोर्टमा थिए । १२ गतेका लागि तय भएको विरोधसभालाई सम्बोधन गर्न पुगेका उनीहरूले एकछिन उत्सव मनाए र त्यो सभालाई विजयसभामा परिणत गर्ने घोषणा गरे ।
अध्यक्ष दाहालले यो घोषणा गर्दा प्रफुल्लित कार्यकर्ताले जोडले ताली बजाएर समर्थन गरे । खुसियालीमा लड्डु पनि ल्याइएको थियो । दुई अध्यक्षले एक–अर्कालाई लड्डु खुवाएर उत्सव मनाए । त्यो उत्सवमा खुसियालीभन्दा धेरै उत्ताउलोपन देखियो, जुन दृश्यले नेकपाभित्रैका धेरै नेता–कार्यकर्ताको आँखा बिझायो । त्यो दृश्य ठ्याक्कै त्यस्तै थियो– जस्तो २०७४ फागुन २ गते प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई तत्कालीन एमाओवादीले समर्थन गर्ने सहमतिपछि ‘भ्यालेन्टाइन्स डे’ समेत परेको भन्दै ओली र दाहालले आपसमा फूल साटासाट गरेर प्रेम प्रदर्शन गरेका थिए ।
पार्टी नेतृत्वका बारम्बारका यस्ता हर्कत धेरै नेता–कार्यकर्ताजस्तै दाहाल–नेपाल नेतृत्वको नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेलाई पनि खल्लो लागेको छ । ‘हामीले आफ्नै बलले मुद्दा जितेको पनि होइन, सर्वोच्चले आफ्नो बलले निर्णय सुनायो, हामीले उठाएको आन्दोलन र अदालतले गरेको फैसलाका बीचमा मेल खाएको मात्रै हो, त्यो खुसियालीमा लड्डु खाने संस्कृति राम्रो होइन भन्ने मेरो बुझाइ हो,’ न्यौपानेले भने, ‘संस्थागत हिसाबले पार्टी चलाउने, तलका कमिटीको कुरा सुन्ने, निर्णय गर्दा छलफल गर्ने, पारदर्शिता अपनाउनेजस्ता सन्दर्भ बाँकी छन्, जुन सच्चिनेभन्दा नसच्चिने सम्भावना बाँकी नै छ ।’कान्तिपुरमा खबर छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij