Jun 13 2026 | २०८३, जेठ ३० गते
काठमाडौं । आमसभा स्थगित गरेर ओली समूहले पोखरा सभागृहमा प्रदेशस्तरीय कार्यकर्ता भेला गर्ने निधो गर्यो । कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्न ओली पोखरा आउने निधो भएपछि हतार–हतार प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रम राखियो । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्चले खारेज नगर्दासम्म पोखरामा फागुन १५ गतेका लागि ओली समूहले आमसभा आयोजना गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री पोखरा आउने भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास कार्यक्रम राख्न भनेका थिए ‘प्रदेश प्रशिक्षणको शिलान्यास गर्ने तीन दिन अघिमात्र जानकारी आएको हो,’ सहरी विकास तथा भवन कार्यालय प्रमुख महेन्द्र बानियाँले भने, ‘प्रतिष्ठानको भवन बनाउने प्रदेश सरकारको योजना पुरानै हो ।’पोखरा नदीपुरस्थित गण्डकी प्रदेश सभा रहेकै प्रांगणमा प्रधानमन्त्री ओलीले प्रदेश प्रशिक्षण प्रतिष्ठान सोमबार दिउँसो शिलान्यास गरेका छन् । प्रतिष्ठानको केही समयअघिमात्र डीपीआर तयार भएको थियो ।
३ करोड २१ लाख ५५ हजार रुपैयाँ लागत अनुमान गरिएको प्रतिष्ठानको भवन चारतले हुने छ । भवन निर्माणका लागि यो वर्ष साढे ६ लाख रुपैयाँमात्र विनियोजन गरिएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले निर्माण कार्यान्वयन गर्ने छ । प्रदेश सरकारले डेढ करोड रुपैयाँ विनियोजन गरेको छ भने प्रदेश तथा स्थानीय सहयोग कार्यक्रमअन्तर्गत प्राप्त सशर्त अनुदान ५ करोड रुपैयाँ यो वर्ष भवनका लागि छुट्टयाइएको हो । ‘बाँकी रकम अर्को वर्ष विनियोजन गर्ने गरी भवन निर्माणको शिलान्यास गरिएको हो,’ भौतिक पूर्वाधार मन्त्रालयका सूचना अधिकारी डोलराज पराजुलीले भने । ४ हजार ९ सय ६४ वर्गमिटर क्षेत्रफलमा बन्न लागेको भवनमा व्यवस्थित पार्किङ, मल्टिपल मिटिङ हल, क्लास रुम, डाइनिङ हलसहित ३३ कोठा हुने छन् । प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारी एवं जनप्रतिनिधिको क्षमता विकास र कार्यसम्पादनमा सुधार, प्रदेश सरकारका कार्यक्रम कार्यान्वयनमा सहजीकरण गर्ने काम प्रतिष्ठानले गर्दै आएको छ । प्रदेश अन्तर्गतका सरकारी तथा अर्धसरकारी निकाय र स्थानीय तहको संस्थागत सुधार एवम् शासकीय क्षमताको अभिवृद्धि गर्ने अभिप्रायले प्रतिष्ठान स्थापना भएको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij