Jun 13 2026 | २०८३, जेठ ३० गते
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल द्विपक्षीय स्तरमा आफ्ना छिमेकी र विश्वका अन्य सबै देशसँग मैत्री सम्बन्ध कायम राख्न प्रतिबद्ध रहेको बताएका छन् । नेपाल विश्व सम्बन्ध परिषद्को ७३औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधनका क्रममा उनले नेपालको संविधानले राष्ट्रिय हितका मूल आधारभूत परिभाषाका साथै संयुक्त राष्ट्र सङ्घको बडापत्र, असम्लग्नता, पञ्चशील, अन्तर्राष्ट्रिय कानून र विश्वशान्तिका मापदण्डमा निहित सिद्धान्तहरूको पालनाका साथ स्वतन्त्र परराष्ट्र नीतिको अनुशरण गर्न मार्गदर्शन गरेको बताए ।
पछिल्लो चरणमा दुवै छिमेकी भारत र चीनसँगको सम्बन्ध थप सौहार्द बनेको धारणा व्यक्त गर्दै उनले नेपालले आफ्नो भूमिमा छिमेकीविरूद्ध कुनै गतिविधि नगर्न प्रतिबद्धता पूरा गरेको बताए । भारतसँगको उच्चस्तरीय आर्थिक साझेदारीले नेपालले महत्वपूर्ण परियोजनामा राम्रो प्रगति हासिल गरेको उल्लेख गर्दै मन्त्री ज्ञवालीले चीनसँग पनि घनिष्ट एवं सौहार्दपूर्ण सम्बन्ध रहेको र नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको बताए ।
नेपालले छिमेकीबाहेक विकास साझेदारका साथै नेपाली आप्रवासी कामदारको गन्तव्य देशसँग घनिष्ट र सहकारी सम्बन्ध कायम राखेको उनको भनाइ थियो । विकास साझेदार र ठूला शक्तिहरुसँग पनि नेपालको सम्बन्ध सदैव सौहार्दपूर्ण र सहयोगी नै रहेको मन्त्री ज्ञवालीले बताए ।
महामारीका समयमा पनि नेपालले राम्रो प्रदर्शन गरेको र सबै नागरिकलाई निःशुल्क कोराना विरुद्धको खोपहरू उपलब्ध गराएको बताउँदै उनले यस अवधिमा गरिबी निवारण, प्रतिव्यक्ति आम्दानी, शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाइ, ऊर्जा उत्पादन, पूर्वाधार निर्माणमा महत्वपूर्ण उपलब्धि हासिल गरेको तथ्याङ्क सुनाए ।
मन्त्री ज्ञवालीले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपतिबाट यही फागुन २३ गते संसद्को बैठक बोलाउन आह्वान भइसकेको बताउँदै सरकार लोकतान्त्रिक प्रक्रियाप्रति दृढ प्रतिबद्ध रहेको संवैधानिक प्रणालीमा पूर्ण विश्वास राख्न भने । कार्यक्रममा परिषद्का अध्यक्ष हेमन्त खरेल, सचिव भुवन पाठकलगायतले परिषद्को गतिविधि र दृष्टिकोणबारे प्रकाश पारेका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij