Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

के साँच्चै प्रधानमन्त्री ओली असुरक्षित छन् ? रक्षामन्त्री पनि आफ्नै, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी ?

के साँच्चै प्रधानमन्त्री ओली असुरक्षित छन् ? रक्षामन्त्री पनि आफ्नै, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी ?

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सुरक्षा खतरा रहेको भन्ने आशयको अभिव्यक्ति दिएपछि त्यसले व्यापक टीकाटिप्पणी निम्त्याएको छ। प्रधानमन्त्रीको त्यस्तो अभिव्यक्ति सार्वजनिक भएपछि पक्ष-विपक्षमा सामाजिक सञ्जालहरूमा पनि फरक-फरक धारणा व्यक्त भइरहेका छन्।

    onlinepatrika
    Arghakhachi

    पोखरामा सोमवार एउटा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले कैयौँ कारणले आफूमाथि प्रहार केन्द्रित रहेको दाबी गरे।सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापित गरेको र नेकपाको प्रचण्ड-माधवकुमार नेपाल समूहले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताइरहेको पृष्ठभूमिमा ‌ओलीको पछिल्लो अभिव्यक्ति आएको हो।

    AGNI GROUP

    प्रधानमन्त्रीले के भनेका थिए?
    प्रधानमन्त्री ओलीले सोमवार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गरेका थिए। त्यस क्रममा उनले आफूमाथि प्रहार केन्द्रित हुनुको एउटा कारण मात्रै नरहेको उल्लेख गरे।

    उनले भने, "नेतृत्वमा म भएको हुनाले, यस पार्टीलाई ठिक ढङ्गले अगाडि बढाइराखेको हुनाले, सरकार ठिक ढङ्गले सञ्चालन गरिरहेको हुनाले, सरकार प्रभावकारी र गतिशील ढङ्गले अगाडि बढिरहेको हुनाले, विकास निर्माणका कामले गति लिइरहेका हुनाले ममाथि प्रहार केन्द्रित छ।"

    आफूमाथि प्रहार "अत्यन्तै तीव्र गति"ले केन्द्रित रहेको पनि प्रधानमन्त्रीले दाबी गरे। "यदि ममाथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यान तल-माथि भइहाल्यो भने पनि तपाईँहरूले अनौठो नमान्नुहोला। तर यस्तो हुन दिइनेछैन, हामी सतर्कता अपनाउनेछौँ।"

    आफू नरहे पनि केही नहुने भन्दै प्रधानमन्त्री ओलीले अगाडि थपे, "आन्दोलन छ, पार्टी छ। यस आन्दोलनले प्रतिक्रियावादी तत्त्व र तिनका मतियारसामु घुँडा टेक्नु हुँदैन।"

    "देशको भविष्य अन्धकारमा जान दिनु हुँदैन। देश बनाउने पार्टीको भविष्यलाई अन्धकारमा जान दिनु हुँदैन। यस पार्टीलाई तल-माथि हुन दिनु हुँदैन।"

    सुरक्षाविद्‌ के भन्छन्?
    सुरक्षा मामिलाका जानकारहरूले प्रधानमन्त्रीको अभिव्यक्ति "अस्वाभाविक" भएको प्रतिक्रिया दिएका छन्।

    पछिल्लो समय नेकपाका दुई समूहका नेताले एकअर्कामाथि राजनीतिक प्रहार गरिरहेको अवस्था भए पनि भौतिक प्रहारको स्थिति नरहेको सुरक्षाविद्‌ गेजा शर्मा वाग्लेको ठम्याइ छ।

    "उहाँको अभिव्यक्ति हास्यास्पद र गैरजिम्मेवार छ। किनभने प्रधानमन्त्रीलाई जे जति सुरक्षा छ त्यो मेरो विचारमा जस्तोसुकै सुरक्षा चुनौतीलाई सामना गर्न सक्षम छ," वाग्लेले भने।

    "यदि प्रधानमन्त्रीलाई साँच्चिकै सुरक्षा चुनौती छ भने उहाँले आफ्नै सुरक्षा प्रणालीलाई अविश्वास गरेको देखिन्छ।"

    अहिले रक्षा मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री ओली आफैँले सम्हालेका छन् भने गृहमन्त्रीको पदमा उनकै समूहका नेता रामबहादुर थापा छन्।

    पूर्वगृहसचिव श्रीकान्त रेग्मी पनि प्रधानमन्त्री ओलीमाथि भौतिक प्रहार हुने सम्भावना आफूले नदेखेको बताउँछन्।

    भीभीआईपीको सुरक्षा पाउने प्रधानमन्त्रीको त्यस्तो अभिव्यक्तिले सुरक्षा निकायको मनोबलमा नकारात्मक प्रभाव पार्ने सम्भावना उत्तिकै रहेको उनी औँल्याउँछन्।

    "त्रुटिरहित ढङ्गले प्रधानमन्त्रीको सुरक्षा प्रबन्ध मिलाइएको हुन्छ। त्यस्तो अवस्थामा प्रधानमन्त्रीको यस्तो भन्दाखेरि सुरक्षा दिनेहरूको मनोबलमा प्रतिकूल असर पर्न सक्छ," रेग्मीले थपे।

    राजनीतिक उद्देश्य के?
    प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति राजनीतिक फाइदा लिने उद्देश्यले पनि आएको हुन सक्ने एकथरीको विश्लेषण छ।

    राजनीतिशास्त्री कृष्ण पोखरेलको बुझाइमा सहानुभूति बटुल्न र नेकपाको प्रचण्ड- नेपाल समूहका नेता, कार्यकर्तालाई आफूतिर तान्ने उद्देश्यका साथ प्रधानमन्त्रीले त्यस्तो अभिव्यक्ति दिएको हुन सक्छ।

    "यो एक प्रकारको राजनीतिक स्टन्ट र जनताबाट सहानुभूमित बटुल्ने उपाय मात्र हो," पोखरेलले भने।

    "भारतमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले जस्तै हाम्रो सन्दर्भमा हाम्रा प्रधानमन्त्रीले नयाँ-नयाँ बहसका कुरा राजनीतिकवृत्तमा छाडिदिनुहुन्छ र अगाडि बढ्नुहुन्छ।"

    आफूले वाचा गरेअनुरूप विकास र सुशासनको दिशामा खासै प्रगति नदेखिएको पृष्ठभूमिमा आमनागरिकको ध्यान अन्यत्र मोड्ने हिसाबले पनि प्रधानमन्त्रीको त्यस्तो अभिव्यक्ति आएको हुन सक्ने एकथरीको बुझाइ छ।

    त्यसबारे पोखरेल भन्छन्, "म आफैँमाथि खतरा छ म मरे पनि मेरा मुद्दालाई अगाडि बढाउनुहोला भन्ने ढङ्गले बहसलाई अन्तै मोड्ने पनि हुन सक्छ। तर यी कुराबाट मानिसहरू भ्रमित हुने अवस्था अब छैन।" यो समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij