Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

तीन सय वर्ष पुरानो निगु पुखुमा ६३ वर्षपछि भरियो पानी

तीन सय वर्ष पुरानो निगु पुखुमा ६३ वर्षपछि भरियो पानी

  • भक्तपुर । मध्यपुरथिमि नगरपालिका–४ मा दुई पोखरीको नामले प्रसिद्ध पोखरीमा दुई वर्ष अघिसम्म बालबालिका फुटबल खेल्थे । तीन सय वर्ष पुरानो यो पोखरीलाई वरिपरि घाँस र झारले पहिचान मेटेर नाममा मात्रै सीमित पारेको थियो । आज त्यो पोखरीले स्वरूप फेरेको छ । घाँस र झार छैन् । पोखरीमा सुन्दर राता तेलिया इँटाले नयाँ स्वरूप पाएको छ । यो ऐतिहासिक पोखरीलाई मध्यपुरथिमि नगरपालिकाले पुनःनिर्माण गरी बुधवार पानी भरेर आफ्नो ३ सय वर्ष पुरानै स्वरूपमा फर्काएको छ । लोप भइसकेको ऐतिहासिक नाम ‘निगु पुखुले फेरि प्रसिद्धि कमाएको छ ।

    onlinepatrika
    Arghakhachi

    करिब १५ करोडको लागत अनुमान गरी नगरपालिकाले प्रसिद्ध ऐतिहासिक निगु पुखुः अर्थात दुईपोखरीको संरक्षण अभियान शुरु गर्दै दुवै पोखरीको परम्परागत शैलीमा पुनःनिर्माण सम्पन्न गरेपछि आउँदो बिस्केट जात्राका लागि पानी भरेको हो ।

    AGNI GROUP

    गत बिस्केट जात्राका लागि दुई पोखरीमध्ये एउटा पोखरी पुनःनिर्माण सम्पन्न गरी पानी भरेको नगरपालिकाले सँगैको अर्को ठूलो पोखरीको पनि परम्परागत शैलीमा पुनःनिर्माण गरी पानी भरेर वास्तविक पोखरीकै स्वरूपमा फर्काएको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले बताए ।

    उनले भने एउटा पोखरी गत चैतमा निर्माण सम्पन्न गरी २०७७ को बिस्केट जात्राका लागि पानी भरेका थियौँ अर्को ठूलो पोखरीको पनि पुनःनिर्माण सकेर आउँदो बिस्केट जात्राका पानी भर्ने काम सम्पन्न भएको छ, पोखरीले नयाँ स्वरूप र नयाँ जन्म पाएको छ ।

    पानी नसुकोस् भनेर पोखरी निर्माणका क्रममा पिधँमा कालोमाटो छ इन्च, त्यसमाथि तीन इन्च पाँगो माटो र त्यसमाथि फेरि छ इन्च कालोमाटो राखेर त्यसमाथि डाँची अप्पा इँटा ओछ्याएर परम्परागत शैलीमा डाँची अप्पामा अप्पा इँटाको प्रयोग गरी पोखरी पुनःनिर्माण गरिएको छ ।

    निगु पुखुः संरक्षणका लागि नगरपालिकाले विसं २०७५ देखि २०७६ चैतसम्ममा एक करोड २५ लाख खर्च गरेको थियो भने उत्तरतर्फको ठूलो पोखरीको संरक्षण एवं पुनःनिर्माणका लागि आव ०७६/०७७ मा नगरपालिकाले एक करोड २५ लाख बजेट विनियोजन गरेको थियो ।

    पोखरीको जीर्णोद्धार गरेर पानी भर्न करिब तीन करोड खर्च भएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए । दक्षिणतर्फको पोखरीभन्दा दुई गुणा ठूलो रहेको उत्तरतर्फको पोखरी संरक्षण एवं जीर्णोद्धारका लागि वाग्मती प्रदेश सरकारबाट करिब ३९ लाख बजेट आएको थियो ।

    दक्षिणतर्फको पोखरी पाँच फिट गहिरो छ भने उत्तरतर्फको पोखरी सात फिट गहिरो बनाइएको छ । पुनःनिर्माण सम्पन्न गरेर पानी भरेपछि ठूलो पोखरीमा ढुङ्गा चलाउने र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास गरिने नगर प्रमुख श्रेष्ठले बताए ।

    आकाशेपानीलाई प्रशोधन गरी दुई पोखरीमा पानी भर्ने योजना छ । पोखरीमा मध्यपुरथिमि इनाय टोलको राजगणेशदेखि दिगु भैरवसम्मको पानी जम्मा गरी प्रशोधन गरेपछि मात्र पोखरीमा खसाल्ने गरी योजना बनाइएको छ । तीन वर्षमा पोखरीको सम्पूर्ण संरक्षणका काम सम्पन्न गर्ने गरी नगरपालिकाले कुल १५ करोडको लागतसहितको गुरुयोजना निर्माण गरेको थियो ।

    पोखरीको पुनःनिर्माण सम्पन्न गरे पनि दुईवटै पोखरीको वरिपरि पैदलमार्ग निर्माण, आठ वटा परम्परागत शैलीको फल्चाअर्थात् पाटी, दुईवटा पोखरीको बीचको बाटो पुनःनिर्माण गर्नुका साथै नगरको मुख्य सांस्कृतिक केन्द्रका रूपमा यो क्षेत्रलाई व्यवस्थित गर्ने काम भने अबको एक वर्षमा सम्पन्न गर्ने लक्ष्य नगरपालिकाले लिएको छ ।

    करिब ३ सय वर्ष पहिले गङ्गा महारानीले दुई पोखरी स्थापना गरी मध्यपुर थिमिवासीलाई पानीको स्रोत दिएको कथन छ । थिमिमा कुनै भवितव्य भएमा, सिँचाइ र अन्य प्रयोजनका लागि पोखरीकै पानी प्रयोग गर्ने प्रचलन थियो ।

    बढ्दो शहरीकरण तथा पानीको वैकल्पिक स्रोत प्रयोग हुन थालेपछि पोखरी संरक्षणमा चासो नहुँदा संरक्षणको अभावमा पोखरी घाँसेचौरमा परिणत भएको स्थानीयवासी बताउँछन् । दुईपोखरीमा बोडेको कमलपोखरी र याता पोखरीबाट पानी ल्याउने गरिन्थ्यो ।

    विसं २०१५ मा राजा महेन्द्र भक्तपुर आउँदा दुई पोखरीको पानी हटाएर मैदान बनाई राजालाई स्वागत गरेपछि पोखरीको संरक्षण नहुँदा पानी सुकेको वडा नं ४ का अध्यक्ष कुमार श्रेष्ठले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij