Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका–४ सागरनाथबाट तीन नाल भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ईश्वरपुर–४ सागरनाथ वन विकास परियोजनाको जङ्गल क्षेत्रमा निलगाई मारेर छापा मार्दा एक जनासहित तीन नाल भरुवा बन्दुक नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवासका प्रहरी प्रमुख प्रहरी निरीक्षक जनकराज ढङ्गानाले जानकारी दिए ।
चार-पाँच जनाको समूहका रहेका शिकारीले जङ्गलबाट निलगाई मारी छाला काडिरहेको समयमा प्रहरीको गस्ती टोली पुगेपछि प्रहरीमाथि नै तीनरचार राउण्ड हवाई फायरसमेत गरेका प्रहरी निरीक्षक ढङ्गानाले बताए। शिकारीले प्रहरीलाई देख्नासाथ प्रहरीमाथि गोली चलाउन थालेपछि प्रहरीले जवाफमा दुई राउण्ड हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।
प्रहरीमाथि हवाई फायर गरी अन्य शिकारी भागे पनि ईश्वरपुर नपा–४ का अन्दाजी ५२ वर्षीय रणबहादुर गोलेलाई प्रहरीले तीन नाल भरुवा बन्दुकसहित नियन्त्रणमा लिन सफल भएको छ । गोलेको साथबाट सो बन्दुकमा लाग्ने बारुद एक बट्टा, प्रदेश–२–०३२प २५२२ नंको मोटरसाइकल र बिआर३०यु ४६७७ नंको भारतीय मोटरसाइकलसमेत बरामद गरेको प्रहरी निरीक्षक ढुङ्गानाले जानकारी दिए ।
मारिएको निलगाई इलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवासले सागरनाथ वन विकास परियोजनालाई जिम्मा लगाएको र फरारहरूको खोजी अघि बढाएको प्रहरीले जनाएको छ । रासस
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij