Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

मध्यपुरथिमिमा अक्सिजन उत्पादनसँगै अमेरिकाबाट उपकरण सहयोग

मध्यपुरथिमिमा अक्सिजन उत्पादनसँगै अमेरिकाबाट उपकरण सहयोग

  • भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले ६५ लाखमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा स्थापना गरेको एयर बेस प्लान्टबाट अक्सिजन उत्पादन गरी आजबाट कोभिड–१९ का बिरामीलाई दिन शुरु गरेको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठसहितको टोलीले गएराति १० बजेसम्म अस्पतालमा बसेर उत्पादन परीक्षणको अवलोकन गरेको थियो । परीक्षण सफल भएपछि प्लान्टबाट अक्सिजन पाइप मार्फत बिरामीको शैयामा पुर्‍याएर अक्सिजन वितरण गर्न थालिएको हो ।

    onlinepatrika
    Arghakhachi

    प्लान्टबाट उत्पादित अक्सिजन अस्पतालको आइसियू, हाइ केयर युनिट र भेन्टिलेटरमा भर्ना भएका कोभिड–१९ का २४ बिरामीलाई दिन थालिएको हो । नगरप्रमुख श्रेष्ठले भने, “नेपाल मै पहिलो पटक यो अस्पतालमा हावाबाट अक्सिजन उत्पादन गर्ने एयर बेस अक्सिजन प्लान्ट जडान गर्न सफल भएका छौ, अहिलेको अभावमा यसले धेरै राहत दिएको छ ।”

    AGNI GROUP

    एकदिन अघिसम्म अस्पतालमा भर्ना भएका बिरामीलाई बचाउन अक्सिजनको खोजीमा सीसीएमसीदेखि स्वास्थ्य मन्त्रालय, अक्सिजन कम्पनीसम्म धाउने, एउटा सिलिण्डर खोज्दै बिरामी बचाउन व्यस्त रहनुपर्ने अवस्थाबाट अलिकति राहत मिलेको उनको भनाइ छ । हाल चीन र अष्ट्रेलियामा मात्रै जडान भएर सञ्चालनमा आएको एयर बेस अक्सिजन प्लान्ट नगरपालिकाले चीनबाट दुई महिना लगाएर ल्याएको हो ।

    “बल्ल मेशिन ल्यायौँ, यो प्लान्ट राख्न केहीले अबरोध गर्न खोज्दा ढिला भयो, १० दिनमा आइसियू भवनमा जोडेर टहरा बनाएर चार दिनसम्म १५ जना रातदिन खटेर प्लान्ट जोडियो”, नगरप्रमुख श्रेष्ठले भने, “विद्युत प्राधिकरण मध्यपुरथिमि शाखाका प्रमुखदेखि इञ्जिनियरको टोली खटेर अक्सिजन उत्पादन गरेपछि अक्सिजन खोज्दै भौतारिनु पर्ने तनाबबाट केही हदसम्म मुक्त भएका छौ ।”

    प्रति घण्टा आठ हजार लिटर अक्सिजन उत्पादन गर्ने यो प्लान्टबाट २४ घण्टामा १ लाख ९२ हजार लिटर अक्सिजन उत्पादन हुनेछ । यसले आइसियू, हाइकेयर युनिट र भेन्टिलेटरका २४ बिरामीलाई अक्सिजन पुग्छ । आकस्मिक कक्षलगायतका ठाउँमा राखिएका १९ बिरामीलाई दैनिक ३० सिलिण्डर अक्सिजन आयात गरे पुग्ने छ । विगतमा दैनिक ९० सिलिण्डर अक्सिजन खपत हुने गरेको थियो ।

    नगरपालिकाले हाल ४२ वटा शैया सञ्चालन गरी कोभिडका बिरामीको उपचार गरेको छ । अस्पतालको पुरोना क्यान्टिन रहेको भवन र नयाँ बन्दै गरेको रेडियोलोजी ब्लकको भुइतलामा थप २० शैया विस्तार गरिसकिएको छ । अक्सिजन अभावले थप बिरामी राख्न नसके पनि अब केही दिनभित्रै ती शय्या पनि सञ्चालनमा ल्याउने नगरप्रमुख श्रेष्ठले बताए ।

    आउँदो १८ तारिखमा अमेरिकामा रहेको नेपाल इन्गेज नामक संस्था तथा नेपालका लागि पूर्वराजदूत स्कट डेलिसिले सहयोग सङ्कलन गरेर करिब ५५ लाखमा चीनबाट ४० वटा अक्सिजन उपकरण यस अस्पताललाई सहयोग आउने भएको छ । नगरप्रमुख श्रेष्ठले अमेरिकाका दाताहरुबाट विद्युतमा जोडेर अक्सिजन प्रवाह गर्न सकिने ‘अक्सिजन कन्सन्ट्रेटर’ ४० वटा तीन दिन भित्र आइपुग्ने बताए । आईसियू र भेन्टिलेटरमा राख्न नपर्ने आकस्मिक कक्ष तथा आइसोलेसनमा राखेर उपचार हुने बिरामीका लागि ‘अक्सिजन कन्सन्ट्रेटर’ जडान गरी अक्सिजन दिन सकिने छ ।

    अक्सिजन नभएकै कारण भर्ना भएका बिरामी फर्काउनुपर्ने अवस्थाको अब अन्त्य हुने र केही दिन मै २० शैया थपेर कोभिडका कम्तीमा ६० बिरामीको उपचार गरिनेछ । हाल सात भेन्टिलेटर, १० आइसियू, १४ हाइकेयर युनिटसहित ४२ शैया सञ्चालन गर्दै आएको यो अस्पताललाई काठमाडौं महानगरपालिकाले थप तीन भेन्टिलेटर सहयोग गर्ने भएको छ । अस्पतालमा हाल दुई वटा पोर्टेबल भेन्टिलेटरसमेत सञ्चालनमा छन् ।

    बाबा सकहकारीको नेतृत्वमा मध्यपुरथिमि भित्र सञ्चालित केही सहकारीले हाइकेयर युनिटका लागि १० वटा मोनिटर सहयोग गर्ने भएका छन् । त्यस्तै एन्फो गैरसरकारी संस्थाले १० शय्या, टेबल, मोनिटर, तीन वटा इसिजि, पिपिइ, स्यानिटाइजर लगायतका सामाग्री सहयोग गरेको छ । कोरोना भाइरस सङ्क्रमितको उपचारमा नगरपालिका सक्रिय भएको नगरपालिकाका प्रशासकीय प्रमुख चुरामणि पन्थीले जानकारी दिए । उनले अस्पतालमा शैयादेखि प्रविधिसमेत थप गर्दै आफ्ना नागरिकलाई सुरक्षित राख्न विभिन्न निकायबाट सहयोग माग र प्राप्त भइरहेको बताए ।

    नगरपालिकाका सूचना अधिकृत एवं कानून शाखा प्रमुख केशव सिलवालले नगरपालिकाले हाल बोडेको कृषि विकास बैंकको तालिम भवनमा कोभिड सङक्रमित आफ्ना नगरवासीका लागि दुई स्वास्थ्यकर्मी सहितको आइसोलेसन सञ्चालन गरेको जानकारी दिए । ५५ जनासम्म सङ्क्रमित राखेको यहाँ नगरपालिकाले २४ सै घण्टा दुई जना स्वास्थ्यकर्मी परिचालन गरी आइसोलेसनमा निःशुल्क बिरामीको उपचार गरिरहेको उनले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij