Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

कोभिडको लडाइँमा हातेमालो गर्न सात अस्पतालसँग महानगरपालिकाको सम्झौता

कोभिडको लडाइँमा हातेमालो गर्न सात अस्पतालसँग महानगरपालिकाको सम्झौता

  • काठमाडौं । कोभिड–१९ को सङ्क्रमणविरुद्ध लड्नका लागि काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका अस्पतालले माग गरेअनुरुप क्षमता बढाउन आवश्यक पर्ने उपकरण तथा व्यवस्थापनमा सहयोग गर्नका लागि एकै दिन सात अस्पतालसँग सम्झौता गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    अस्पतालको व्यवस्थापन तथा उपचार प्रणालीको सुधार तथा क्षमता वृद्धि गरेर सङ्क्रमणमा परेका बिरामीलाई बचाउन महानगरले आफ्नो क्षेत्रभित्र भएका सरकारी तथा सामुदायिक अस्पताललाई अनुदान रकम दिने गरी सम्झौता गरेको हो ।

    AGNI GROUP

    महानगरपालिकाले यसरी सम्झौता गरेका अस्पतालमा वीरेन्द्र सैनिक अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, क्षत्रपाटी निःशुल्क चिकित्सालय, निजामती कर्मचारी अस्पताल, महेन्द्रनारायण निधि मेमोरियल अस्पताल, हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल र मोडल अस्पताल रहेका छन् ।

    महानगरले शुक्रबार यी अस्पतासँग कोभिड सङ्क्रमणसँग लड्नका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री उपलब्ध गराउने भन्दै सम्झौता गरेको हो । यसअघि महानगरपालिकाले वैशाख २४ गते सम्झौता गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई १० थान भेन्टिलेटर उपलब्ध गराइसकेको छ ।

    त्यस्तै वैशाख २७ गते नरदेवी आयुर्वेदिक अस्पतालसँग अक्सिजनसहितको उपकरण जडान गर्नका लागि सम्झौता गरिसकिएको छ । सबै सम्झौता महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको रोहवरमा महानगरकातर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले र अस्पतालका तर्फबाट सम्बन्धित अधिकारीले हस्ताक्षर गरेका छन् ।

    “सानासाना युनिटमा आइसोलेशन वा उपचारका अन्य प्रणाली विकास गर्दा धेरै स्रोत र साधन खर्च हुन्छ, यी ठाउँहरु उपचारका लागि अन्तिम ठाउँ होइनन्, यहाँ कसैलाई जटिल समस्या भयो भने लानुपर्ने अस्पताल नै हो, त्यसैले हामीले भौतिक संरचना, विशेषज्ञ जनशक्ति र प्रणाली भएका सामुदायिक तथा सरकारी अस्पतालको क्षमता बढाउनेतर्फ जोड दिइएको छ”, प्रमुख शाक्यले भने ।

    शुक्रवार सम्झौता भएका अस्पतालमध्ये वीरेन्द्र सैनिक अस्पतालले महानगरपालिकाको नामबाट अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालन गर्नेछ । आजदेखि छ महिनाका लागि गरिएको सम्झौताबमोजिम काम शुरु गर्न पहिलो किस्तास्वरुप रु दुई करोड उपलब्ध गराइनेछ ।

    क्षत्रपाटी निःशुल्क चिकित्सालयले ३५ शैयाको कोभिड अस्पताल सञ्चालन गर्नेछ । यसको पूर्वाधार विकासका लागि करीब रु ३० लाख र ३५ शैयाको कोभिड विशेष अस्पतालको समग्र व्यवस्थापन, आवश्यक जनशक्तिका लागि महानगरले मासिक झण्डै रु ४८ लाख व्यहार्नेछ । यो सम्झौता कोभिडको महामारीका विषयमा कामपाले अर्को निर्णय नगरेसम्मका लागि हो ।

    त्यसैगरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा १५ भेन्टिलेटर र ५० थान मोनिटर खरीद गर्ने रकम महानगरपालिकाले उपलब्ध गराउनेछ । यसरी नै अन्य सम्झौता भएका अस्पतालले पनि आफूलाई कोरोना महामारीसँग जुध्नका लागि आवश्यक पर्ने सामग्री माग गरेकाले सोही अनुरुप महानगरले अनुदान रकम दिने छ ।

    महानगरले अनुदान दिएका अस्पतालले आफूले दैनिक दिएको सेवाको विवरण महानगरलाई हरेक दिन पठाउनु पर्ने बताइएको छ । खर्च र लेखा परीक्षण प्रचलित कानूनले दिएको अधिकारबमोजिम रहनुपर्ने छ । रासस 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij