Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौँ । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ९४ वटा खाली अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ । सङ्कलन गरिएका ९४ वटा र यसअघिको स्टक रहेका २६ वटा गरी जम्मा १ सय २० वटा सिलिन्डरमध्ये बुधबार ७४ वटा सिलिन्डर कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ । साथै ४६ वटा अक्सिजन सिलिन्डरहरु स्टक रहेका छन् ।
आवश्यकता भन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने व्यक्ति, विभिन्न संघसंस्था तथा स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिन्डर सङ्कलन गरी उपलब्ध गराइएको हो ।
नेपाल प्रहरीको सक्रियतामा गत वैशाख २६ गतेदेखि हालसम्म जम्मा ९ हजार ४ सय ४७ वटा सिलिन्डर सङ्कलन गरी कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ ।
यस विषम परिस्थितिमा अन्य प्रयोजनका लागि स्टक नगर्न तथा विभिन्न कम्पनी, संघसंस्था तथा व्यक्तिहरूसँग आवश्यकता भन्दा बढी सिलिन्डर छन् भने त्यस्ता सिलिन्डरहरू उपलब्ध गराई सहयोग गर्न नेपाल प्रहरीले अनुरोध समेत गरेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij