Jun 21 2026 | २०८३, असार ७ गते
ललितपुर । ललितपुरमा रहेको गुडविल बचत तथा ऋण सहकारी ठगी गरेको मुद्दाको अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझाएको छ । महानगरीय प्रहरी परिसर ललितपुरले आइतबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो ।
चैत २२ मा प्रहरीले गुडविल बचत तथा ऋण सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठलाई चितवनबाट पक्राउ गरेको थियो । गुडविलबाट लिएको ऋण तिर्न नसकेपछि उनी भागेका थिए ।
‘संगठित ठगी मुद्दामा अनुसन्धान पुरा गरेर प्रतिवेदन बुझाएका छौं’ महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्रचार्यले रातोपाटीसँग भनिन्, ‘सो मुद्दामा १७ जनालाई पक्राउ गरेका छौं ।’
पक्राउ पर्नेमा केही मिटरब्याजीहरु छन् । गुडविल बचत तथा ऋण सहकारीमा जनताले डिपोजिट गरेको रकम दिवाकर सहितको समूहले ठगी गरेका हुन् ।
गुडविल सहकारीका अध्यक्ष श्रेष्ठले बित्तिय संस्थाबाट लोन लिएर घरजग्गा किनेको प्रहरीको अनुसन्धानबाट देखिएको छ । ऋण तिर्नका लागी मिटरब्याजमा लगानी गर्नेहरुले दिवाकरलाई पैसा दिएर चर्को ब्याज लिँदा सहकारीमा राखेको सर्वसाधारणको पैसा डुबेको अनुसन्धानबाट देखिएको एसएसपी बज्रचार्यले बताइन् ।
दिवाकरले गुडविल सहकारीको करिब ७० करोड र विभिन्न व्यक्तिबाट करिब २ अर्ब ठगी गरेको अनुसन्धानबाट खुलेको छ । रातोपाटी
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij