Jun 21 2026 | २०८३, असार ७ गते
रोल्पा । रुन्टिगढी गाउँपालिकामा किशोरीलाई जबर्जस्ती करणीको प्रयास गर्ने एक इन्जिनीयर पक्राउ परेका छन् । गाउँपालिकाको होलेरीमा २० वर्षीया कोरोना पोजेटिभ किशोरीलाई जबर्जस्ती गरेको आरोपमा ३६ वर्षीय इन्जिनीयर शेषमणि पौडेल पक्राउ परेका हुन् ।
गाउँपालिका कार्यालयमा कार्यरत इन्जिनीयर पौडेललाई पीडित किशोरीको लिखित जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नवराज सुवेदीले जानकारी दिए ।
“सार्वजनिक धारामा नुहाउँदै गरेको अवस्थामा संवेदनशील अङ्गमा सुमसुम्याउँदै जबर्जस्ती करणी गर्न खोजेको भन्ने पीडित किशोरीले जाहेरीमा उल्लेख गरेकी छिन्”, प्रहरी नायब उपरीक्षक सुवेदीले भने।
सार्वजनिक जवाफदेही पद धारण गरेको व्यक्तिले किशोरीमाथि त्यस्तो हर्कत गर्नु अत्यन्तै जघन्य अपराध भएकाले प्रहरीले अत्यन्तै संंवेदनशील भई कानूनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ । “पक्राउपछि इलाका प्रहरी कार्यालय होलेरीको हिरासतमा रहेका पौडेललाई जबर्जस्ती करणी उद्योगअन्तर्गत मुद्दा चलाएर थप अनुसन्धान थालिएको छ”, सुवेदीले भने ।
एकान्त स्थानमा रहेको धारामा नुहाइरहेकी किशोरीलाई बोतलमा पानी भर्ने बहानामा त्यहाँ पुगेका पौडेलले करणी प्रयास गरेको जाहेरीमा उल्लेख गरिएको छ । युवती कोरोना संक्रमित रही होम आइसोलेसनमा बस्दै आएकी थिइन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij