
Aug 27 2025 | २०८२, भदौ ११ गते
काठमाडौँ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका स्थानीयले पेट्रोलजस्तो गन्ध आउने ड्यु भेटिएको दाबी गरेका छन् ।
स्थानीय सुर्यबहादुर कार्की र सरस्वती कार्कीले शनिबार दिक्तेल बजारको एउटै पसलबाट सवा दुई लिटरको तीन बोत्तल जम्बो ड्यु खरिद गरेका थिए । एक बोत्तल ड्युमा भने कुनै समस्या नदेखिएको सुर्यबहादुरले बताए ।
बरुण बेभरेज नेपाल प्रालि, काठमाडौँले उत्पादन गरेको माउण्टेन ड्युको बोत्तलमा १८ मे २०२२ मा उत्पादन मिति उल्लेख छ । ड्युमा पेट्रोलको गन्ध आएको विषयमा स्थानीय केदार बस्नेतले आइतबार बिहान सामाजिक सञ्जालमा भिडियो शेयर गरेका थिए । त्यसपछि ड्युका डिलर सञ्चालन ग्राहक भेट्न पुगेका थिए ।
स्थानीय र डिलर सञ्चालकबीचमा चर्काचर्की भएको थियो । माउण्टेन ड्युका दिक्तेल डिलरका सेल्समेन दिपक खतिवडाले भने कम्पनीबाट नभै ग्राहकबाटै त्रुटी भएको दावी गरेका छन् ।
पेट्रोलको गन्ध आउने ड्यु भेटिएको गुनासोपछि जिल्ला प्रशासन कार्यालय र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बजार अनुगमन टोली स्थलगत अध्ययनमा पुगेको थियो । ड्युमा अखाद्यवस्तु मिसावट भएको आशंकामा सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाही नेतृत्वको बजार अनुगमन जिल्ला समन्वय समिति र नगरपालिका अन्तरगतको स्थानीय बजार अनुगमन समितिले सो दुई बोत्तल ड्यु जफत गरेको छ ।
ड्युमा अखाद्यवस्तुको गन्ध आएको विषयमा अनुसन्धान तथा छानविन गरी दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयले प्रशासनलाई निवेदन दिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij