Jun 08 2026 | २०८३, जेठ २५ गते
ललितपुर । ललितपुर महानगरपालिकाले आफ्नो कार्यालय अगाडि पार्किङ हुने सवारीसाधनबाट उठाउँदै आएको शुल्क हटाएको छ । महानगरको १७ औँ कार्यपालिकाको बैठकले बुधबारदेखि लागू हुनेगरी महानगरको कार्यालय अगाडि र सडक किनाराको पार्किङ शुल्क हटाउने निर्णय गरेको हो ।
यसअघि सडक किनारा र महानगरको कार्यालय अगाडि पार्किङ गर्दा सेवाग्राहीहरुले पार्किङ बापतको शुल्क तिर्दै आएका थिए । महानगरले सेवाग्राहीबाट नै पार्किङ बापतको शुल्क लिएको भन्दै गुनासो बढेसँगै बैठकले पार्किङ शुल्क हटाउने निर्णय गरेको महानगरले जनाएको छ।
महानगरले कुमारीपाटी, पाटन हस्पिटल, महालक्ष्मी स्थान, एकान्तकुनाको यातायात अगाडि, कुपण्डोल हनुमानस्थान, जावलाखेल लगायतका क्षेत्रमा पार्किङ निःशुल्क गरेको छ।
कार्यपालिकाको बैठकले निषेधित क्षेत्रमा पार्किङ गरे स्थलगत कारबाही गर्ने, चोक–चोकमा ट्याक्सी पार्किङको व्यवस्था गर्ने लगायतका ट्राफिक व्यवस्थापनको कार्ययोजना समेत ल्याएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij