
May 24 2025 | २०८२, जेठ १० गते
काठमाडौं । हिन्दु नेपालीहरुको ठूलो पर्व तिहार (यमपञ्चक) आजदेखि सुरु भएको छ । यमपञ्चकको पहिलो दिन, आज धन त्रयोदशी अर्थात् धनतेरस मनाइँदैछ ।
आज धातुका नयाँ सामान जोडेर धनतेरस मनाइन्छ । यस अवसरमा सुन, चाँदी, गरगहना, सवारी साधन र भाँडाकुँडा खरिद गरिन्छ । दीपावलीको किनमेलका लागि धनतेरसलाई निकै उत्तम मानिन्छ । विशेष गरी मिथिला क्षेत्रमा धातुका सामान किनेर पूजाआराधना गर्दै दीपावली पर्व प्रारम्भ गर्ने परम्परा छ । घरघरमा आजै साँझदेखि उज्याला बत्ती बालेर नयाँ किनिएका धातुका सामान र धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिन्छ ।
दीपावली मुख्यतः धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिने पर्व भएको हुँदा पहिलो दिन नै नयाँ वस्तु जोडेर लक्ष्मी खुशी पार्न यो पर्वको परम्परा चलेको बताइन्छ । मिथिला क्षेत्रमा ‘दिवाली’ को पहिलो दिन नै बजारबाट किनेर ल्याइएको धातुका गहना वा भाँडालाई लक्ष्मीको प्रतिमा स्थापित गरिएका ठाउँमा पूजा गरेर यो पर्व विधिवत सुरु गरिने परम्परा छ ।
सन्ध्याकालमा दीप प्रज्ज्वलनसँगै धनतेरसको पूजा गरेर ‘दिपावली’ पर्व सुरु गरिन्छ । पर्व विशेषका कारण आज तामा, पित्तल र काँशका भाँडा पसल तथा सुनचाँदीका गहना बनाउने पसलमा ग्राहकको भीडभाड रहन्छ । आज किनिएको सामान शुभफल दिने, टिकाउ र नाफा दिने हुने जनविश्वास छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij