Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौँ। प्रत्येक वर्ष कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म मनाइने छठको व्रतविधि आजदेखि सुरु भएको छ । चतुर्थीका दिन आज बिहान वर्तालुले स्नान गरी एक छाक खाएर बसेका छन् । यसलाई ‘नहाय खाय’ भनिन्छ । छठको विधि कात्तिक कृष्ण प्रतिपदा अर्थात् कोजाग्रत पूर्णिमाका दिनदेखि सुरु भए पनि मुख्य व्रतविधि आजदेखि सुरु भएको हो । छठ व्रत विधिको दोस्रो अर्थात् कात्तिक शुक्ल पञ्चमीका दिन बुधबार सखर हालेर बनाइएको खीर ९खरना० षष्ठी मातालाई चढाई वर्तालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ । यसलाई खरना गर्ने भनिन्छ । यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि विधान रहेको गुह्येश्वरी गौरीघाट छठ पूजा समिति गुह्येश्वरीका अनिल सिंहले बताउनुभयो । यस वर्ष कात्तिक २२ गते बिहीबार छठको मुख्य दिन हो । यस दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ ।
“षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ”, उहाँले भन्नुभयो । यस वर्ष कात्तिक २३ गते शुक्रबार कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिएपछि छठ पर्व समापन हुन्छ ।
कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा चर्म अर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ । सरकारले यो पर्वका अवसरमा सार्वजनिक बिदा दिने गरेको छ । सूर्यको पूजा, आराधना र उपासनासँग जोडिएको यस पर्व तराईसँगै पहाडी जिल्लामा पनि मनाउन थालिएको छ ।
छठ पर्वका लागि राजधानीको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, गहनापोखरी, नागपोखरी, कमलपोखरी लगायत बागमती, नख्खु र विष्णुमती लगायत नदी किनारमा सजावट गरिएको छ । छठका बर्तालुले कात्तिक शुक्ल चतुर्थीदेखि चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । केही बर्तालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ नखाई चोखो अर्थात् सात्विक भोजन गरेर बस्ने गरेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij