Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको मालपोत र नापी कार्यालयका अधिकृतसहित आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । एक कठ्ठा जग्गालाई तीन कठ्ठा बनाई किनबेच गरेको आरोपमा उनीविरुद्ध बिहीबार मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।
मालपोत कार्यालय, बाराका अधिकृत सुमनप्रसाद चौधरी, तत्कालीन नायब सुब्बा बुधनप्रसाद यादव, नापी कार्यालय, बाराका तत्कालीन नापी अधिकृत तथा हाल अवकाशप्राप्त दिनानाथ मिश्र, तत्कालीन सर्वेक्षक तथा हाल नापी कार्यालय, पर्सामा कार्यरत शिवबालक साह, तत्कालीन सर्वेक्षक सुनिल कुमार झा, जितपुरसिमरा–१३ का लेखापढी व्यवसायी जयलाल सहनी, वडा नं. १५ बस्ने जग्गाधनी सुदामा प्रसाद चौधरी थारु र रामपति देवी थरुनीलाई पनि प्रतिवादी बनाइएको छ ।
उनीहरूमाथि साविक डुमरवाना गाविस-६ स्थित जग्गाको किर्ते गरी क्षेत्रफल बढाई बिक्री गरेको अख्तियारको आरोप छ । प्रारम्भिक श्रेस्तामा ०–१–० जग्गा रहेकोमा किर्ते गरी ०–३–१० कायम गरिएको तथा अर्को ०–२–१० क्षेत्रफल रहेको जग्गालाई किर्ते गरी ०–६–० बनाई नापी र मालपोत कार्यालयको मिलेमतोमा श्रेस्ता पूर्जा तयार पारिएको आयोगले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij