Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । दक्षिण कोरियामा लागेको भीषण डढेलो(आगलागी)मा परी हालसम्म २८ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।
लगभग ४८,००० हेक्टर जमिन डढेलोको चपेटामा परेको छ । केन्द्रीय विपद् तथा सुरक्षा प्रतिकारक मुख्यालयले शुक्रबार बिहान दिएको जानकारी अनुसार दक्षिणपूर्वी क्षेत्रहरूमा लागेको ठूलो आगलागीमा परी थप पाँच जना घाइते भएका छन् ।गत शुक्रबारदेखि, मध्यम र ठूला आकारका डढेलोहरू १० क्षेत्रहरूमा फैलिएका छन्, जसमध्ये धेरैजसो ग्योङसाङ प्रान्तमा छन् । आगलागी इतिहासकै भीषण रहेको जनाइएको छ ।
आगलागीबाट अहिलेसम्म दक्षिण कोरियाका राष्ट्रिय सम्पदा स्थलहरू क्षतिग्रस्त भएका छन् । ३,४८१ घर, कारखाना र अन्य सुविधाहरू पनि क्षतिग्रस्त भएका छन् । स्थानीय समय अनुसार शुक्रबार बिहान ५ बजेसम्म, बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म केही प्रभावित क्षेत्रहरूमा हल्का वर्षा भए पनि छ वटा डढेलो अझै बलिरहेको छ ।
अप्रिलको अन्त्यसम्म सुख्खा र तेज हावाको अवस्था कायम रहने अनुमान गरिएको छ । जसले गर्दा ठूलो मात्रामा डढेलो दोहोरिने सम्भावना रहेको केन्द्रीय विपद् तथा सुरक्षा प्रतिकारक मुख्यालयले चेतावनी दिएको छ। स्थानीय अधिकारीहरूका अनुसार डढेलोका कारण ३३,००० बासिन्दाहरू विस्थापित भएका छन् भने ८,००० भन्दा बढी मानिसहरू अझै पनि घर फर्कन सकेका छैनन् ।
दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक–सूले शुक्रबार आपतकालीन निर्देशन जारी गर्दै केन्द्रीय विपद् तथा सुरक्षा प्रतिरोध मुख्यालयका मन्त्रीलाई आगो पूर्ण रूपमा नियन्त्रण नभएसम्म प्रभावित बासिन्दाहरूको लागि निर्बाध रुपमा राहत प्रयासहरू सुनिश्चित गर्न उत्तरी ग्योङसाङमै रहन निर्देशन दिएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij