
Jul 08 2025 | २०८२, असार २४ गते
काठमाडौं । नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको संयुक्त आयोजनामा प्रदान गरिँदै आएको “हेमबहादुर मल्ल सम्मान” यस वर्ष पूर्व प्रधान न्यायाधीश श्री कल्याण श्रेष्ठलाई प्रदान गरिने भएको छ।
संस्थागत विकास र न्यायिक नेतृत्वमा उहाँको अनुकरणीय योगदानको कदर गर्दै संघले श्रेष्ठलाई सम्मान गर्ने निर्णय गरेको हो। उक्त सम्मान आगामी साउन २६ गते काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रदान गरिनेछ।
सम्मान कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार नारद नाथ तिवारी रहने छन्। पूर्वप्रधान न्यायाधीश श्रेष्ठले कानुन र राजनीतिकशास्त्रमा औपचारिक शिक्षा हासिल गरी जिल्ला, पुनरावेदन र सर्वोच्च अदालतमा न्यायाधीशको रूपमा कार्य गर्दै सेवा निवृत्त भएका थिए। न्यायिक क्षेत्रमा उहाँको लामो अनुभव र निष्पक्ष दृष्टिकोणले नेपाली न्याय प्रणालीमा विशिष्ट प्रभाव परेको जनप्रशासन संघले जनाएको छ।
सम्मानको निर्णय जनप्रशासन संघका अध्यक्ष मदनप्रसाद आचार्य, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका अध्यक्ष श्री मुक्ति अर्याल, पूर्व सांसद एवं जीवनका कोरियाद्वारा संयोजकत्वमा गठित समिति तथा अन्य आमन्त्रित सदस्यहरूको बैठकबाट गरिएको हो। हेमबहादुर मल्ल सम्मान साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका पूर्व नेतृत्वकर्ता तथा प्रेरणादायी प्रशासक दिवंगत हेमबहादुर मल्लको सम्झनामा स्थापित गरिएको हो।
स्व: मल्लको जन्म १९९९ सालमा बागलुङको निम्दीगाउँमा भएको थियो। साल्ट ट्रेडिङ कर्पोरेशनमा प्रमुख कार्यकारी, इन्जिनियर, मार्केटिङ प्रमुख र उपाध्यक्ष जस्ता विभिन्न पदमा रहेर सेवा गरेका मल्लले अन्य निजी तथा सहकारी संस्थाहरूमा समेत योगदान पुर् याएका थिए। उहाँको निधन २०७५ सालमा भएको हो। नेपाल जनप्रशासन संघले जारी गरेको प्रेस विज्ञप्तिमा स्वर्गीय मल्लको योगदानलाई स्मरण गर्दै उहाँको स्मृतिमा स्थापित सम्मानले प्रशासकीय सेवा क्षेत्रका व्यक्तिहरूलाई निरन्तर प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij