Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

ज्येष्ठ नागरिकको सुरक्षित र मर्यादित जीवनयापनमा ध्यान दिनु जरुरी छः प्रधानमन्त्री

ज्येष्ठ नागरिकको सुरक्षित र मर्यादित जीवनयापनमा ध्यान दिनु जरुरी छः प्रधानमन्त्री

  • काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिकप्रति सम्मान र आदर व्यक्त गर्नु तथा उनीहरूले विगतमा गरेका कार्य र योगदानप्रति कृतज्ञता व्यक्त गर्नु हामी सबैको कर्तव्य भएको बताएका छन् ।  

    onlinepatrika
    Arghakhachi

    प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७८ का अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस दिवसले समाजमा ज्येष्ठ नागरिकप्रति आदर, सद्भाव र सम्मान वृद्धि गरी उनीहरुको सुरक्षित र मर्यादित जीवनयापनमा जोड दिन हामी सबैलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

    AGNI GROUP

    विसं २०५१ देखि पुस ११ गतेलाई ज्येष्ठ नागरिक दिवसका रुपमा मनाउने गरिए पनि सरकारको निर्णयानुसार पहिलोपटक देशव्यापीरूपमा ‘सभ्य नागरिकको पहिचानः ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन लागिएको हो । 

    ज्येष्ठ नागरिक जुनसुकै समाजका अग्रणी व्यक्तित्व र महत्वपूर्ण सामाजिक धरोहर हुन् भन्दै प्रधानमन्त्री देउवाले उनीहरु महत्वपूर्ण ज्ञान, सीप र अनुभवका भण्डार तथा शिष्टता, सदाचार र संस्कृतिका संवाहक पनि भएकाले उनीहरूले देखाएको र सिकाएको बाटोमा हिँडेर नै आज हामी यो अवस्थामा आइपुग्न सकेका छौँ भने । ज्येष्ठ नागरिकको उचित सम्मान र मर्यादा गर्न नसक्ने तथा उनीहरूले विगतमा हाम्रो समाज र राष्ट्रका लागि पु¥याएको योगदानलाई स्मरण र कदर गर्न नसक्ने समाजलाई सभ्य समाज मान्न नसकिने बताउँदै प्रधानमन्त्रीले भने, “ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्न र उहाँहरूको हकअधिकारलाई थप सुनिश्चित गर्न नेपाल सरकारले यस वर्षदेखि आजको दिनलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने निर्णय गरेको हो ।” 

    विश्वमा नै दिन प्रतिदिन बढ्दै गएको ज्येष्ठ नागरिकको सङ्ख्यालाई उचित व्यवस्थापन गरी उनीहरूको जीवनयापनलाई सहज र सम्मानित बनाउने साझा दायित्व हामी सबैको रहेको उल्लेख गर्दै उनले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाको सुनिश्चितता गरिनु पर्दछ भन्ने मान्यताका साथ नेपालको संविधानमा मौलिक हकका रूपमा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण र सामाजिक सुरक्षाको हकको व्यवस्था गरिएको बताए ।

    ज्येष्ठ नागरिकको स्वस्थ, सम्मानित र मर्यादित जीवनयापनमा सहजीकरण गर्ने उद्देश्यले विभिन्न कानूनी र नीतिगत व्यवस्था कार्यान्वयनमा रहेको र समयको परिवर्तनसँगै यसलाई पुनरावलोकन गरी थप प्रभावकारी बनाउँदै जान आवश्यक रहेकामा प्रधानमन्त्रीले जोड दिए । 

    ज्येष्ठ नागरिक हाम्रो समाजका अग्रज मात्र नभएर मार्गदर्शक व्यक्तित्व, प्रेरणाका स्रोत र गौरवका प्रतीक हुन् भन्ने वास्तविकतालाई मध्यनजर गरी जीवनको उत्तराद्र्धमा उनीहरूको पालनपोषण र संरक्षणको उचित व्यवस्था गर्नु हामी सबैको अनिवार्य कर्तव्य रहेको प्रधानमन्त्री देउवाले बताए । 

    उनले भने, “ज्येष्ठ नागरिकको मानवअधिकारको संरक्षण, आर्थिक र सामाजिक सुरक्षा, तथा उनीहरूका लागि सम्मानित र सुरक्षित जीवनयापन गर्न अनुकूल वातावरणको सिर्जना गर्नुपर्ने दायित्व सरकारको मात्र नभएर परिवार र समाज सबैको हो ।” यस क्रममा उपलब्ध स्रोत र साधनलाई अधिकतम सदुपयोग गर्दै ज्येष्ठ नागरिकको जीवनलाई सुखी, सम्मानित एवं सुरक्षित तुल्याउन थप सामाजिक सुरक्षाका कार्यक्रम कार्यान्वयनमा ल्याउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीले बताए । 

    समाजमा ज्येष्ठ नागरिकको सम्मानित जीवनयापन गर्न पाउने वातावरण सुनिश्चित गर्ने एवं उचित सामाजिक सुरक्षा प्रदान गर्ने अभिप्रायले सरकारले विविध सहुलियतका अतिरिक्त सामाजिक सुरक्षा भत्तासमेत निरन्तर उपलब्ध गराउँदै आएको उल्लेख गर्दै उनले भने, “यसलाई आगामी दिनमा थप विस्तार गरी विपन्न र दूरदराजका ज्येष्ठ नागरिकलाई विशेष सहुलियत उपलब्ध गराउन जोड दिनुपर्ने खाँचो छ ।” 

    ज्येष्ठ नागरिकमा विभिन्न विषयमा गहिरो ज्ञान, सीप र अनुभव रहेकाले त्यसलाई राज्यले उचित ठाउँमा सदुपयोग गर्दै नयाँ पिँढीमा समेत उक्त ज्ञान तथा सीपलाई हस्तान्तरण एवं पुस्तान्तरण गर्नसके भविष्यका पुस्ताले पनि ठूलो लाभ लिनसक्ने बताउँदै प्रधानमन्त्री देउवाले यसका लागि तीनवटै तहका सरकारले निश्चित कार्ययोजना नै बनाएर अघि बढ्न आवश्यक रहेकामा जोड दिए ।  

    उनले यस विषयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई आगामी दिनमा ठोस कार्यक्रम अघि बढाउन आग्रह पनि गरे । ज्येष्ठ नागरिकको हित र कल्याणका लागि नेपाल सरकार निरन्तर संवेदनशील र प्रयत्नरत रहेको बताउँदै उनले संविधान एवं कानुन प्रदत्त हक, अधिकार र सुविधाको प्रभावकारी कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको उनले उल्लेख गरे । 

    प्रधानमन्त्रीले आव २०७८÷७९ देखि ज्येष्ठ नागरिकलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले वृद्धि गरी स्वास्थ्योपचार समेतका लागि मासिक रु चार हजार उपलब्ध गराउँदै आएको र रु एक लाखसम्मको उपचार खर्चकोसमेत व्यवस्था गरिएको जानकारी दिए ।

    आजको यस दिवसले आआफ्नो घरपरिवारबाट सुरु गरी समाज र राष्ट्रमा ज्येष्ठ नागरिकलाई हेर्ने दृष्टिकोण र व्यवहारमा सकारात्मक भावको विकास गर्न हामी सबैलाई उत्प्रेरित गरोस् तथा उनीहरूको उचित सम्मान, संरक्षण र मर्यादित जीवनयापनका लागि सहज र अनुकूल वातावरण सिर्जना गर्न सबैलाई थप जिम्मेवारी बोध गराओस् भन्ने कामना पनि सो अवसरमा प्रधानमन्त्रीले गरे । प्रधानमन्त्री देउवाले पहिलोपटक देशव्यापीरूपमा मनाउन लागेको राष्ट्रिय ज्येष्ठ नागरिक दिवसले सम्पूर्ण ज्येष्ठ नागरिकमा सम्मान व्यक्त गर्दै उनीहरूको सुख, आरोग्य र मर्यादित जीवनयापनका लागि हार्दिक शुभकामना व्यक्त गरे । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij