Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

जागिरपछिको जीवन सहज बनाउन रिसोर्ट

जागिरपछिको जीवन सहज बनाउन रिसोर्ट

  •  काठमाडौं ।  कैलालीको टीकापुर नगरपालिका–१ का यमबहादुर शाह पेशाले स्वास्थ्यकर्मी हुनुहुन्छ । उहाँले छ वर्ष गुल्मी जिल्लामा स्वास्थ्यकर्मीको रुपमा काम गर्नुभयो ।

    onlinepatrika
    Arghakhachi

    दश महिना पहिले सरुवा भएर टीकापुर नरगपालिकामा आउनु भएका सिनियर अहेब शाहले गुल्मीमै रहँदा केही व्यवसाय गर्नुपर्छ भन्ने योजना बनाउनुभएको थियो । तर के गर्ने भन्नेमा शाह आफै दोधारमा रहनुभएको थियो । साथीहरूसँग चिया पसलमा भएका गफले उहाँलाई होटेल व्यवसाय गर्ने आट आयो । उहाँमा आट मात्रै आएन दैनिक चिया गफमा कुरा हुँदै जाँदा चार जना अरु व्यक्ति पनि होटलमा लगानी गर्न मञ्जुर हुनुभयो ।  जागिरसँगै होटल व्यवसायीको रुपमा चारजना अन्य सहकर्मीलाई जोडेर टीकापुर नगरपालिका–१ पार्क रोडमा ‘टीकापुर भिजिट एग्रो रिसोर्ट‘ सञ्चालनमा ल्याउनुभएको छ ।  साझेदारीमा रहेका पाँच जना फरकफरक क्षेत्रमा आवद्ध हुनुहुन्छ । “योजना पहिले नै बनाएको थिएँ । एक्लैले व्यवसाय गर्न आँट पुगेन”, शाहले भन्नुभयो, “जागिर सँगसँगै केही आम्दानी जोड्नका लागि भए पनि व्यवसाय गर्नुपर्छ भन्ने मान्यता राखेर नै व्यवसायमा लागेको हुँ ।” उहाँले जागिर सकिएपछिको बाँकी जीवनलाई चलाउन पनि व्यवसाय नै महत्वपूर्ण रहने भन्दै कार्यालय समयभन्दा बाँकी रहेको समय व्यवसायका लागि खर्च गर्दै आएको बताउनुभयो ।
     

    AGNI GROUP

    त्यस्तै, कैलालीकै जानकी गाउँपालिका–८ खैरीपुरका सुरत विश्वकर्मा २०७१ सालमा रोजगारीको सिलसिलामा मलेसिया पुग्नुभयो । उहाँमा पाँच वर्ष मलेसियामा गरेको परिश्रमले स्वदेशमै केही गर्नुपर्छ भन्ने आँट आयो । तर के गर्ने भन्ने कुनै योजना बनाउन नसक्नुभएका सुरत अहिले त्यही रिसोर्टको एक लगानीकर्ताको रुपमा रहनुभएको छ । १२ कक्षासम्म अध्ययन गर्नुभएका सुरतले मलेसियामा रहँदा होटल लाइनमा गरेको कामको अनुभवलाई स्वदेशमा प्रयोग गर्न लागेको बताउनुभयो । “विदेशबाट फर्कदा स्वदेशमै केही गर्नुपर्छ भन्ने मनस्थिति बनाएर फर्केको थिएँ”, सुरतले भन्नुभयो, “विदेशमा रहेर होटलमै काम गर्दा पाएको अनुभव र भावनात्मक रुपमा कुरा मिल्ने साथीसँग काम गर्दा त्यसले वृहत रुप लिन सक्छ भन्ने सोचका साथ हामीले व्यावसायिक यात्रा तय गरेका हौ ।”
     
    ‘भिजिट रिसोर्ट’ टीकापुरका अर्का लगानीकर्ता टीकापुर नगरपालिका–२ का राजेश विश्वकर्मा पेशाले राजनीति क्षेत्रमा आवद्ध हुनुहुन्छ । नेकपामा आवद्ध हुनु भएका उहाँले राजनीतिका लागि पनि व्यावसायिक पाटो महत्वपूर्ण रहने बताउनुभयो । राजनीतिले घर परिवार चलाउन मुस्किल हुन थालेपछि राजेश तनाबमा हुनुहुन्थ्यो । तर नयाँ योजनाका बारेमा साथीहरूले गरेको छलफलले उहाँमा जोश आयो । काम गर्ने इच्छाशक्ति पलायो र राजेश त्यही व्यवसायमा एक लगानीकर्ताको रुपमा लाग्नुभयो ।  “नेपालमा पर्यटन, कृषि र हाइड्रोपावरमा गरिएको लगानीले सफलता पाउनेमा दुई मत छैन”, लगानीकर्ता राजेशले भन्नुभयो, “पर्यटन क्षेत्रसँग होटल व्यवसाय पनि जोडिने भएकाले हामी सफल हुन्छौ जस्तो लाग्छ ।” करिब रु ७० लाखको लगानीमा निर्माण भएको उक्त रिसोर्टमा शैक्षिक पेशामा आवद्ध मीना चौधरीको पनि लगानी छ । उहाँ दिनभर विद्यालयमा विद्यार्थीलाई अध्यापन गराउनुहुन्छ र फुर्सदको समयमा आफूले रिसोर्टलाई पनि समय दिँदै आएको मीनाले बताउनुभयो । 

     उक्त रिसोर्टको पाचौं लगानीकर्ताको रुपमा युवा विद्यार्थी जनक चलाउने रहनुभएको छ । अध्ययनको सिलसिलामा जिल्ला बाहिर भए पनि साथीहरूको विश्वासले रिसोर्टमा लगानी गरेको उहाँको भनाइ छ । रिसोर्टले गर्ने आम्दानीको १० देखि १५ प्रतिशत रकम अनाथ र असाहायको लागि खर्च गरिने योजना रहेको लागनीकर्ताको भनाइ छ । “आफूहरु कुनै न कुनै माध्यमबाट विगत देखिनै सामाजिक क्षेत्रसँग पनि जोडिएका छौं”, लागानीकर्तामध्येका शाहले भन्नुभयो, “अहिले पनि विभिन्न आश्रम तथा शिविरमा बस्दै आएकालाई सक्दो सहयोग गर्दै आएका छौं, अब रिसोर्टको आम्दानीमध्ये केही रकम सामाजिक उत्तरदायित्व निर्वाह गर्न विभिन्न क्षेत्रमा खर्च पनि गर्ने योजना बनाएका छौं ।”

    आम्दानीको १० देखि १५ प्रतिशत रकम सामाजिक क्षेत्रमा लगानी गर्ने सहमति हुँदा यस्तो योजनाबाट समाजमा घुलमिल हुन पनि सहज हुने विश्वास उहाँहरुको छ । झण्डै दश कठ्ठा जग्गामा सञ्चालन गरिएको उक्त रिसोर्ट पारिवारिक र बालबालिकामैत्री छ । रिसोर्ट परिसरमा बाल बगैँचा, नेपालको धरहरा, नेपालको नक्शा, सगरमाथालगायतका डिजाइन बनाइएका छन् ।  आगामी दिनमा यो रिसोर्टलाई एग्रोफर्मतर्फ परिणत गर्दै पब्लिक शेयरका लागि पनि आह्वान गरिने योजना बनाइएको छ । आगामी एक वर्षभित्र धनगढी र कोहलपुरमासमेत शाखा विस्तारको तयारीमा उहाँहरु रहनुभएको छ । अहिले रिसोर्टमा १० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । कैलालीको पूर्वी क्षेत्र टीकापुरमा सञ्चलनमा रहेको ‘टीकापुर वृहत उद्यान‘ महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा चिनिएको छ । उद्यानमा दैनिक पर्यटकको ठूलो चहलपहल हुने गर्दछ । कोरोना कहरका कारण केही महिना बन्द भए पनि यो उद्यानमा यही मङ्सिरदेखि पर्यटकको चहलपहल बढ्न थालेको छ ।  
      
    उद्यानमा घुम्न आउने पर्यटकलाई लक्षित गरी भिजिट एग्रो रिसोर्ट सञ्चालनमा ल्याएको लगानीकर्ताको भनाइ छ । उद्यानमा घुम्न आउनेको गतिविधि नै स्थानीय होटल व्यावसायीको आम्दानीको आधार बन्ने गरेको अवस्थामा नमूनाको रिसोर्ट सञ्चालन हुँदा पर्यटकको गतिविधि थप बढ्दै जाने विश्वास गरिएको छ । टीकापुर बजार क्षेत्र नेपालकै नमूनाको रुपमा बस्ती विकास भएको शहर मानिन्छ । तत्कालीन मन्त्री खडकबहदुर सिंहको पहलमा टीकापुरलाई नमूना बस्तीको रुपमा विकास गरिएको थियो । तत्कालीन राजा महेन्द्र बिरामी हुँदा यसै टीकापुर वृहत उद्यानमा विश्राम गरेर स्वास्थ्य लाभ गर्नुभएको थियो । उद्यानमा महेन्द्र विश्राम गृह, वीरेन्द्र विश्राम गृहलगायतका संरचनाका साथै रङ्गीचङगी फूलका बगैँचा छन् ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij