Jun 15 2026 | २०८३, असार १ गते
काठमाडैं । उमेरले ६३ वर्ष पुग्नुभएका काभ्रेपलाञ्चोक भूम्लु गाउँपालिका–८ भुम्लुटारका धनबहादुर माझी भोटेकोशी नदी छेउमा चुहिएको डुङ्गा टाल्दै जीविकोपार्जनको पेशा जोगाउने तयारीमा हुनुहुन्छ । उहाँले डुङ्गा टाल्नका लागि साइनोले भतिजो पर्ने सोमबहादुरलाई लगाएको छ ।
नदीमा माछा मार्ने र डुङ्गा खियाएर परिवार पाल्ने माझी समुदायको पुख्र्यौली पेशा हो । पछिल्लो समयमा नदीमा माछा नपाइने र यातायातको साधन चलेपछि खासै डुङ्गाको खोजी नहुने भएकाले पनि पुख्र्यौली पेशाबाट विस्तारै विस्थापित हुँदै जानुपरेको उहाँको गुनासो छ । सिमलको काठबाट बनाइएका डुङ्गा दुई÷तीन वर्षसम्म चलाउन मिल्ने भए पनि बेलाबखत खिइएर चुहिने भएकाले टालटुल गर्नुपरेको उहाँको भनाइ छ । ‘‘अहिले पछिल्ला समयमा डुङ्गा चुहिएर चलाउन मिलिरहेको थिएन । अब टालटुल गरेर चलाउनु प¥यो भनेर भतिजोलाई काममा लगाएको हुँ’’ उहाँले भन्नुभयो ।पछिल्लो समयमा न त डुङ्गा खियाएर जीविकोपार्जन गर्न सक्ने आधार छ, न त माछा मारेर नै । पछिल्लो समयमा नदीमा माछा नै पाउन छाडेपछि त्यो पेशा पनि सङ्कटमा परेको उहाँले बताउनुभयो । उहाँका अनुसार विगतमा पुल नबन्दा राँगाभैँसी डुङ्गाबाट नै तार्ने गर्दथ्यो । त्यसरी तारिदिएबापत प्राप्त गरेको आम्दानीले जीविकोपार्जन गर्ने गर्दथ्यो । अहिले त नदीमा पक्की पुल र माछा नै नपाउने भएपछि आफूहरुको पुख्र्यौली पेशा विस्थापन हुँदै गएकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
पर्यटक आएको बेलामा मात्रै त्यसरी टालेको डुङ्गा प्रयोगमा आउने उहाँले बताउनुभयो, “पर्यटक आए भने त कमाई ठीकै हुन्छ, नभए नदी छेउमा राखिराख्नुको विकल्प छैन”, धनबहादुरले भन्नुभयो । उहाँले टाल्दै गरेको डुङ्गामा दुई÷तीन जनासम्म चढ्न मिल्छ । उहाँ नदीमा डुङ्गा चढेको भाडा प्रतिव्यक्ति १०० रुपैयाँ लिनुहुन्छ । त्यसरी सानो डुङ्गामा दुई÷तीन जना र ठूलोमा भने चार÷पाँच जनासम्म चढ्न मिल्ने उहाँले बताउनुभयो ।
डुङ्गा चढ्ने मानि सधैँजसो नआउने भएकाले प्रायः बिदाको दिन र शनिबार मात्रै चलाउने गरेको उहाँहरुको भनाइ छ । ‘पर्यटक सधैँं नआउने भएकाले प्राय शनिबार मात्रै चलाउने गर्छौं ।’ उहाँले भन्नुभयो, “बिदाको दिन भने एक हजार ५०० देखि दुई हजार पच्चीस सय रुपैयाँसम्म कमाइ हुन्छ ।” त्यससँगै झन् स्थानीय बासिन्दाले नदी छेउछाउमा विभिन्न खालका फोहर फाल्ने गरेपछि पर्यटक आउने सङ्ख्यामा कमी आएको उहाँहरु बताउनुहुन्छ ।सोही ठाउँका सोमबहादुर माझीका अनुसार एउटा काठ किन्न कम्तीमा पनि एक लाख रुपैयाँ पर्छ । “काठ किनेर त्यहीँ बनाउनु प¥यो, फेरि ल्याएपछि नदी किनारामा पनि अवस्थाअनुसार बनाउनुपर्छ’’ उहाँले थप्नुभयो, ‘‘देखेजति सहज कहाँ छ र हजुर १” सोमबहादुरले त्यसरी डुङ्गा खियाउन थालेको ४०÷४५ वर्ष भयो । छ जनाको परिवार पाल्नको लागि डुङ्गा खियाउने व्यवसायसँगै त्यसले मात्रै नधान्ने भएपछि पछिल्लो समयमा गाउँघरमा नै ठेक्कापट्टामा ज्यामी काम गर्दै आएको सुनाउनुभयो ।
ज्यामी काम गर्दा दिनको आठ÷नौ सय रुपैयाँ पाउने गरेपनि सधैँं त्यस्तो काम पनि नपाउने उहाँले दुखेसो छ । आदिवासी जनजाति समुदायभित्रका अति सीमातकृत समूहमा पर्ने उहाँहरुको जीवनस्तर उकास्ने खालको अहिलेसम्म कुनै पनि काम स्थानीय सरकारले पनि गरेको छैन । सो वडामा करिब ७० घरपरिवार माझी समुदायको बसोबास रहेको छ । भुम्लु गाउँपालिका–८ का वडाध्यक्ष मोतीलाल तामाङले अहिलेसम्म माझी समुदायको जीवनस्तर उकास्ने र पेशा संरक्षणको क्षेत्रमा कुनै पनि काम नभएको बताउनुभयो । ‘‘हामीले उहाँहरुको जीवनस्तर उकास्ने खालको केही पनि काम गर्न सकेका छैनौँ’’, उहाँले भन्नुभयो, “यस वर्ष भने उहाँहरुको मौलिक संस्कृति झल्ने सामग्री सङ्ग्रहीत गरेर राख्ने कामसँगै आदिवासी जनजातिको संस्कृति झल्कने खालको सामग्री सङ्ग्रहित गरेर राख्न थोरै बजेट छुट्याएका छौँ ।”यसअघि नै पुरातत्व विभागले दोलालघाटमा बनाएर राखेको भवनलाई समेत सदुपयोग हुने गरी माझीहरुले प्रयोग गर्ने डुङ्गा, माछा मार्न प्रयोग गर्ने जाललगायत आदिवासी जनजाति समुदायको संस्कृति झल्कने वस्तुको संरक्षणको काम गर्न लागेको उहाँले बताउनुभयो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij