Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणसँग नागरिकता र भिजिट भिसा समस्या हटाउन सांसदहरूले माग गरेका छन्।
नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, सांसद रङ्गमती शाही, विन्दा पाण्डे, विमला राई पौडेल र विना श्रेष्ठले गृहमन्त्री खाणलाई भेटेर नागरिकता, भिजिट भिसालगायतका विषय देखिएको समस्या सम्बोधनका लागि पहल गर्ने आग्रह गरेका थिए। नागरिकतासम्बन्धी विषयले उमेर पुगेका पनि बैंक खाता खोल्न, पढ्न, विद्यालयमा भर्ना हुन र रोजगारीका लागि आवेदन दिन पनि समस्या भएकाले यथाशीघ्र समस्या समाधान गर्न पहलकदमी लिई दिन गृहमन्त्रीलाई उनीहरुले आग्रह गरेको मन्त्रीका प्रेस संयोजक मधुसुदन भट्टराईले बताए।
भिजिट भिसाबाट सिर्जित समस्या तथा समाधानका उपायहरू सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलको प्रतिवेदनमा संविधानसँग बाझिने विषयवस्तु समेटिएको भन्दै उनीहरूले सच्याउन आग्रह गरेका थिए।
कांग्रेस सहमहामन्त्री उपाध्यायले अपराधमा ‘जेन्डर’ जोडिन नहुने बताएकी थिइन्। स्थानीय तह निर्वाचनमा महिलालाई पालिकाका उपप्रमुखमा मात्र होइन प्रमुखमा पनि निश्चित कोटा छुट्याउनुपर्ने तथा वडा अध्यक्षमा महिलाको सङ्ख्या कम रहेकाले बढाउने पहल पनि सरकारबाट हुनुपर्ने उनले बताइन्। गृहमन्त्री खाणले महिला सांसदहरूले उठाएका विषयमा सरकारको ध्यानाकर्षण भएको बताएका थिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij