Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमै रोजगारी र आम्दानी सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् ।
व्यास नगरपालिकाले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आज आयोजना गरेको महिला हाफ म्याराथनको व्यास नगरपालिका–११ तनहुँसुरमा समापन गर्दै उनले गाउँमै रोजगारी सिर्जना गरेर मानिसलाई गाउँमै बसुँबसुँ बनाउनुपर्ने बताए । वरिष्ठ नेता पौडेलले रोजगारी र सेवासुविधाको खोजीमा सहर झरेकालाई अब गाउँमै फर्काउनुपर्नेमा जोड दिए ।
‘पर्यटनको विकास गरेर गाउँमै रोजगारी सिर्जना गर्नुपर्छ, गाउँबाट भागेका मनलाई पुनःगाउँमै फर्काउनुपर्छ, त्यसका लागि स्थानीय तहले योजनाबद्ध कार्यक्रम ल्याउन आवश्यक छ’ उनले भने, ‘आज डाँडा–डाँडामा विकास पुगेको छ, डाँडाको दिन फर्किन थालेको छ, राना भनेको जनजाति हुन्, अब जनजातिका पनि दिन फर्किन्छन् ।’
वरिष्ठ नेता पौडेलले तनहुँसुर ऐतिहासिक ठाउँ रहेकाले यसको विकास गर्नुपर्ने बताउँदै कुनै जमानामा चहलपहल रहेको तनहुँसुर विस्तारै ओझेलमा परेपनि विकासको क्रमले पुनः यो ठाउँ चहलपहल हुने दिशामा अगाडि बढेको छ भने,‘तनहुँसुर ऐतिहासिक ठाउँ हो, शहीदको गाउँ पनि हो, तनहुँसुरको ऐतिहासिक झल्काउने गरी यहाँ आउने वातावरण सिर्जना गर्नुपर्छ,’ उनले भने ।
सो अवसरमा वरिष्ठ नेता पौडेलले महिला हाफ म्याराथनका विजेतालाई पुरस्कार वितरण गरे । प्रतियोगितामा कान्छीमाया कोजु प्रथम, रेखा बम विष्ट द्वितीय र नम्रता गुरुङ तृतीय भएकी छन् । उनीहरुले क्रमशः रु ४१ हजार ७८, ३१ हजार ७८ र २१ हजार ७८ नगद प्राप्त गरेका छन् ।
खेलकूदका माध्यमबाट पर्यटनपवद्र्धनका लागि म्याराथन आयोजना गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij