Jun 18 2026 | २०८३, असार ४ गते
एजेन्सी । पाकिस्तानको प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। राष्ट्रिय सभामा पेस भएको प्रधानमन्त्री खानविरुद्धको अविश्वासको प्रस्ताव पारित भएको हो। शनिबार अबेर राति राष्ट्रिय सभामा अविश्वासको प्रस्ताव पारित भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।
योसँगै ६९ वर्षका इमरान खान अविश्वास प्रस्ताव मार्फत सत्ताच्यूत हुने पहिलो पाकिस्तानी प्रधानमन्त्री बनेका छन्।
प्रस्तावको पक्षमा १७४ सदस्यले मतदान गरे। राष्ट्रिय सभामा अविश्वासको प्रस्ताव सफल भएपछि सदनलाई सम्बोधन गर्दै पाकिस्तान मुस्लिम लीग पीएमएल)का अध्यक्ष शाहबाज शरीफले पाकिस्तानले संविधान र कानुनको पुनर्स्थापना गर्न चाहेको बताए। उनले आफूहरुले कसैसँग बदला नलिने तर कानुनले आफ्नो बाटो लिने बताएका छन्।
राष्ट्रिय सभामा अविश्वासको प्रस्ताव पारित भएपछि सदनलाई सम्बोधन गर्दै पाकिस्तान पीपल्स पार्टी (पीपीपी)का अध्यक्ष बिलावल भुट्टो जर्दारीले अप्रिल १० को ऐतिहासिक महत्व रहेको बताए।
उनले सदनलाई १० अप्रिलमा १९७३ को संविधान पारित गरेको स्मरण गराए। उनले भने, ‘पुरानो पाकिस्तानमा स्वागत छ ।’
यसअघि उपसभामुखले अविश्वास प्रस्तावलाई संविधान विपरित भएको भन्दै मतदान प्रक्रिया रोकेका थिए। यस्तै, प्रधानमन्त्री खानको सिफारिसमा राष्ट्रपतिले संसद् भंग गरेका थिए। तर, सर्वोच्च अदालतले दुवै निर्णय बदर गरेपछि शनिबार मध्य रातमा मतदान भएको हो।
खानले विपक्षी नेतृत्वको सरकारलाई आफूले मान्यता नदिने बताएका छन्। आफूलाई सत्ताबाट हटाउनका लागि अमेरिकाको नेतृत्वमा अभियान चलेको उनले आरोप छ। तर, अमेरिकाले भने उक्त आरोपको खण्डन गर्दै आएको छ।
संसद्ले अब नयाँ प्रधानमन्त्री नियुक्त गर्ने छ। सोमबार नयाँ नेता छान्नका लागि पाकिस्तानी संसद्मा मतदान हुनेछ। नयाँ बन्ने प्रधानमन्त्रीले सन् २०२३ को अक्टोबरसम्म देशको नेतृत्व गर्ने छन्। त्यसपछि नयाँ चुनाव हुनेछ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij